|

बझाङ : चिसो बढेसँगै बझाङका भेडापालक जाडो छल्न बेशीं झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थालेपछि भेडीगोठहरू बेशींतर्फ झार्न थालिएको हो।

बझाङको साइपाल, सुर्मा, छबीसपाथीभेरा, तल्कोट गाँउपालिका र बुङगल नगरपालिकाका भेडापालकहरू चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेशीं झर्ने गर्दछन्।

चार हजार मिटर भन्दा अग्ला पाटनहरूमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरूको दैनिकी भएपनि चिसो बढेसँगै मंसिरमै बेशींतिर झर्न थालेका हुन्। बुङगल नगरपालिका–२ लौनेका किशोर धामीले आफ्ना डेढ सय भेडा ल्याएर जाडो छल्न बेशी झरेको बताए।

भेडा चराउने हिमाली पाटनहरूमा चिसो बढन थालेपछि उनीसँगै गएका अन्य भेडापालकहरू बेशीं झरेको उनको भनाई छ। सोही गाउँका नरबहादुर धामी, जय धामी, हर्क धामीलगायतका भेडापालकहरूले ६ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनहरूमा विताएको बताए। उनीहरू आठ सय बढी भेडाबाख्रा लगेर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए।

वर्षौदेखि ती पाटनहरूमा भेडा चराउने गरेका उनीहरूले यसवर्ष चिसो निक्कै बढेको बताए। चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपाली छिट्टै भेडालाई बेशीं झारिएको हो। चिसो बढेसँगै भेडाले बेशींतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक जय धामीले बताए।

उनले भने, ‘गर्मी बढेपछि बेशीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेशींंतर्फ झर्छन्। उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन्। सोही अनुसार हामीहरूले पनि गोठ सार्नुपर्छ।’ कार्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेशींतिर झर्ने गरेको उनको भनाई छ।

छबीसपाथीभेरा गाँउपालिकाका शुक्र बोहरा पनि ३ सय भेडाको बथानसहित आफ्नै गाँउ बुडखोरी झरेका छन्। टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाडालगायतका क्षेत्रमा महिनौं बिताएका बोहरा जाडो बढेसँगै भेडी गोठ लिएर औल सार्नुभएको हो।

उनले भने, ‘जाडोयाममा केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ। भेडापालकहरू घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिँउ पर्न थालेसँगै बेशीं झर्ने र गर्मी बढेसँगै हिमाली भेग तिर जाने गर्दछन्।’

फागुन अन्तिमसम्म बेशींमै रहने र  गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने बोहराको भनाई छ। चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडो बाट बचाउनकै लागि बेशीं झार्न थालिएको उनले बताए।

भेडापालक किसानहरूलाई हिउँदको समयमा भने निकै सास्ती हुने गरेको छ। चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेशीं झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको उनीहरूले गुनासो गरेका छन्।

छबीसपाथिभेरा गाउँपालिकाका मिन धामीले भने,‘व्यवसायी सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा पर्न थालेको छ। पहिले देखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेशींं झर्दा भेडा चराउन समस्या भइरहेको छ।

उनका अनुसार वनमा भेडा चराएवाफत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ। विरानो ठाउँमा भेडाबाख्रा चराउँदा राति बास बसेको ठाउँमा ढुंगा हान्ने, मदिरा खाएर समूह आएर दुःख दिने गर्छन्। केही वर्ष अघिसम्म यहाँका अधिकांश मानिसको मुख्य पेसा नै भेडापालन थियो। अहिले यो पेशाप्रतिको आकर्षण घट्दै गएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.