|

हेटौंडा :  मकवानपुरको मनहरी गाउँपालिकाको कार्यालयबाट करिब दुई घण्टा पैदलको बाटो हिँडेर पुगिने एउटा गाउँ। जुन गाउँ सामान्य सुविधाबाट पनि पर छ।

मनहरी गाउँपालिका-४ नयाँ बस्तीमा मौलिक अधिकारमा पर्ने शिक्षा, स्वास्थ्य लगायतको सामान्य सेवा सुविधाको पनि पहुँच छैन।

चेपाङ समुदाय बस्ने नयाँ बस्तीका अधिकांश घर घाम र पानी सजिलै छिर्ने गरी काठले बारिएको, त्रिपाल र बोरा बेरिएको र खरले छाएका छन्। अशिक्षा र गरिबीको  चपेटामा रहेको चेपाङ समुदायमा  बालबालिका भने उल्लेख्य छन्।

अधिकांशका सन्तान सालाखाला पाँचभन्दा बढी छन्। विद्यालय टाढा भएकाले सीमित बालबालिका मात्रै पढ्न जाने गरेका छन्। नयाँ बस्तीको बासिन्दा सामान्य टाउको मात्रै दुख्दा पनि सिटामोल किन्न २-३ घण्टाको पैदल हिँडेर बस्तीपुरसम्म पुग्छन्।

गाउँमा भएको एउटा हेल्थ पोष्ट महिनामा दुई दिन खोप केन्द्रको रूपमा खुल्छ। बालबालिकालाई खोप लगाउने केन्द्रको रूपमा सञ्चालन भएको स्वास्थ्यचौकीमा नयाँबस्तीका बासिन्दाले सिटामोल पनि पाउँदैनन्।

 खोला तरेर बगरै बगर हिँडेर पुगिने सो गाउँमा हिउँदमा अटो चल्ने भए पनि बर्खामा आएको भेलले केही पनि चल्न सक्दैन। बाटो नभएकोले नयाँबस्तीमा अटोबाहेक अन्य सवारीसाधन जाँदैन।

पहिला चर्च अनि मात्र अस्पताल जान्छन् बिरामी

बर्खामा खोलामा आउने बाढीले गर्दा अटो पनि चल्न नसकेपछि नयाँ बस्तीका बासिन्दा बिरामी हुँदा बोकेर पैदलै हिँडेर स्वास्थ्य संस्था पुग्ने गर्छन्। उसो त नयाँ बस्तीका स्थानीय बिरामी भएपछि स्वास्थ्य संस्थाभन्दा पहिला चर्च धाउने गरेका छन्।

विद्यालय र सिटामोल किन्ने स्वास्थ्य चौकीसमेत नभएको नयाँ बस्तीको झुपडीहरूको बीचमा दुईवटा पक्की चर्च ठडिएका छन्। करिब एकसय मिटरकै दूरीमा नयाँबस्तीमा दुईवटा पक्की सुन्दर चर्चहरू बनेका छन्। काठ, थोत्रो त्रिपाल र खरले बनेका बेरंगी झुपडीहरूको गाउँमा रंगिन चर्च छ।

नयाँ बस्तीका अधिकांश घरहरू बारिएको पनि छैनन्। घना जंगलको बीचमा भएको गाउँमा  बाघको त्रास रहने गरेको स्थानीय बताउँछन्। तर, जंगली जनावरको त्रासमा त्यहाँको बासिन्दा नबारिएको खुल्ला घरमा नै बस्छन्।

छाना हालिएको घरमा प्रवेश गर्न झ्याल ढोका नै बनाइएको छैन। यिनै झुपडीहरूलाई गिज्याउने गरी चर्च बनाइएको छ। सिटामोल किन्ने स्वास्थ्य चौकी एउटा पनि नभएको ठाउँमा नजिकै दुईवटा चर्च निर्माण गरिएका छन्।

गाउँका अधिकांश बासिन्दा आफ्ना पुराना धर्म र मूल्यमान्यता छोडेर क्रिश्चियन धर्ममा लागेको स्थानीय सविता प्रजाले बताइन्। ‘टाउको दुख्दा सिटामोल किन्न जानुपर्‍यो भन्ने घण्टौँ हिँड्नुपर्छ। तर, चर्च त घर आँगनमै छ। त्यसैले सामान्यदेखि गम्भीर बिरामी हुँदा पनि गाउँको अधिकांश व्यक्ति पहिला चर्च नै धाउँछन्’,उनले भनिन्।

अभाव, गरिबी र अशिक्षाले नयाँ बस्तीको बासिन्दालाई अन्धविश्वाससतर्फ धकेलेको उनले बताइन्। प्रजाले चर्चमा गएर ध्यान गर्दा पनि ठिक नभएपछि मात्रै गाउँलेहरू अस्पताल जाने गरेको उनी सुनाउँछिन्।

उनको अनुसार अस्पतालमा एकपटक गएर ठिक नभएकाहरूलाई पनि फर्काएर चर्चमा नै राखिने गरेको छ। ‘चर्चमा गयो भने सबै रोग ठिक हुन्छ भन्छन्’,उनले भनिन्, ‘नजिकै स्वास्थ्य संस्था नभएकोले हिँडेर टाढा पुग्नुभन्दा नजिकैको चर्च जाऊँ न भनेर पहिला त्यतै लाग्छन्।’ गाउँमा पहिलो पक्की घरको रुपमा पनि चर्च नै बनेको उनको भनाइ छ। त्यसपछि भने पछिल्लो समय केही घर बन्ने क्रममा रहेको उनले बताइन्। 

चर्च बनेपछि बिरामी घटेको विश्वास

नयाँबस्तीकी २८ वर्षीया अनिता प्रजा पछिल्लो समय बिरामी हुँदा चर्च गएरै ठिक भएकी थिइन्। त्यसयता उनी बिरामी भएकी पनि छैनन्। बिरामी भएपछि अस्पताल जानुपर्ने भए पनि पहिला चर्चमा लैजानुपर्ने उनी बताउँछिन्।

गाउँमा चर्च बनेपछि बिरामी हुनेको संख्या घटेको पनि उनको बुझाइ छ। ‘अस्पताल जानैपर्ने भए पनि पहिला चर्च गएर मात्रै  जाने हो। हामीलाई जसरी पनि ठिक हुनुपर्ने हो। चर्च गएर ठिक भइन्छ भने टाढाको अस्पताल किन गइराख्नु’, उनले भनिन्।

उनको अनुसार केही पास्चरहरू आएर गाउँमा चर्च बनाइदिएका थिए। चर्च बनेदेखि उनको र अस्पतालको सम्बन्ध टुटेको छ। 

नयाँबस्तीका अधिकांश चेपाङहरू अशिक्षित छन्। गरिबीको चपेटामा भए पनि उनीहरू छोराको आस र अन्य विभिन्न बहानामा पाँचभन्दा बढी सन्तान जन्माउँछन्।

अधारभूत तहसम्म केही दूरीमा विद्यालय भए पनि सबै बालबालिका पढ्न विद्यालय पनि जाने गरेका छैनन् भने माध्यमिक तह अध्ययन गर्न घण्टौँ हिँडेर जानुपर्ने बाध्यता छ।

हिउँदमा अटोमा बिरामी दिएर अस्पताल जाने उनीहरू बर्खामा झोलुंगे बनाएर बिरामी बोकेर जाने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.