|

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिको १०औँ पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको १४ औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। उनी १२औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए।

सह-महामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन्। युवापुस्तालाई पार्टीको नेतृत्वमा पुर्‍याउनका लागि सहमहामन्त्रीमा उनीहरूलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ छ।

मुलुकलाई अप्ठ्यारो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रस्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उनले बताए।

मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याउनु परे पनि नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गरे।

‘छ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौँ’, उनले भने, ‘महिलाका लागि स्तन र पाठेघरको क्यान्सरको निःशुल्क उपचार, प्रदेशलाई सडक मानव मुक्त घोषणा, कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक पाँच हजार रुपैयाँ प्रदान लगायतका लोकप्रिय काम यो सरकारले गरेको छ।’

कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई ५० हजार रुपैयाँ, साना व्यवसायीका लागि व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइएको उनले बताए। प्रदेशलाई पूर्ण साक्षर घोषणा, शिक्षा र स्वास्थ्य नीति घोषणा पनि यही अवधिमा गरिएको छ।

अब प्रदेशमा १८ वर्षभन्दा माथिको उमेरका सबैजसोले कोरानाविरुद्धको खोप लगाइसकेको भन्दै अब नयाँ भेरियन्टबाट बच्नका लागिसमेत सतर्कता अपनाइएको उनको दाबी छ। कोरोनाको उपचार र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले थप जनशक्ति नियुक्तिका लागि प्रक्रिया थालेको जानकारी उनले गराए।

 को हुन् पोखरेल?

२००५ जेठ ५ मा तनहुँको राम्चेमा जन्मिएका पोखरेल बाल्यकालदेखि राजनीतिबाट दीक्षित भएका थिए। उनी र उनको परिवारका लागि राजनीति अभिन्न अङ्ग बन्यो। पूरै परिवार प्रजातन्त्रको आन्दोलनमा होमियो। पिता देश निकाला भएका समयमा भारतमा निर्वासित भई बिएसम्मको शिक्षा भारतबाट हासिल गरे।

काभ्रे र तनहुँका विभिन्न विद्यालयमा शिक्षण गर्दा उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई सफल बनाउन भूमिका निर्वाह गरे।  
बुवा गोवर्द्धन शर्माको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो।

आमाबाट कृष्णचन्द्र नेपालीले मातृ वात्सल्य मात्र पाएनन् राजनीतिक संस्कारसमेत सिके। श्रीमती लता पोखरेलको पनि उहाँको सफलता र यहाँ सम्मको राजनीतिक उचाइ प्राप्तिमा महत्त्वपूर्ण भूमिका रहेको छ।

साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष हुन भने कान्छा भाइ सुवासचन्द्र अमेरिका बस्छन्। २ बहिनी सत्यम्वदा र प्रियम्वदा रहेका छन्।

पोखरेलको प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै भएको थियो। त्यसपछि उहाँ माध्यमिक शिक्षाका लागि भारत पुगे। माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र नेपाली दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए।

२०३९ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउनका लागि नवलपरासी बसाइँ सरेका पोखरेलको स्थायी बसोबास गैँडाकोट नगरपालिका–१ मा छ।

प्रजातन्त्रका लागि सङ्घर्ष गरेका व्यक्तिहरुलाई पञ्चायत सरकारले झुठा अभियोगमा फसाउन थालेपछि शिक्षण पेसा छाडेर उनले जनपक्षीय वकिलका रूपमा काम गर्न थालेका थिए। संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव २०७४ मा उहाँ प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट उठेका थिए।

एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई तीन सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका थिए।
प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी छ पटकसम्म जेल परेका थिए।

२०४८ को अधिवेशनपछि पोखरेल निरन्तर चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति रहे। पोखरेल परिवर्तित राजनीतिक परिवेशसँग २०७८ जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.