|

बैतडी : फोटोसहितको मतदाता नामावली संकलनअन्तर्गत बैतडीमा १ लाख ४६ हजार बढीको नाम दर्ता भएको छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म १ लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन्।

विसं २०७७ पुस ५ सम्म नाम दर्ता गराउनेको संख्या १ लाख ४४ हजार ९ सय २ छ। यसमध्ये पुरुष ७२ हजार ३ सय ४१, महिला ७२ हजार ५ सय ५९ र तेस्रोलिंगी २ जना छन्।

त्यसपछि हाल पालिका स्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रममा १ हजार १ सय ८० जनाले नाम दर्ता गराइसकेका छन्।

मंसिर १७ देखि निर्वाचन आयोगले देशभरीका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो।

०७७ पुस ५ सम्म १८ वर्ष पुगेकाको संख्या भने १ लाख ४१ हजार ८ सय ९५ जना छ। १६ वर्षमा नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्न १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ।

०७७ पुस ५ गते संसद विघटनपश्चात मतदाता नामावली संकलन गर्न रोकिएको थियो। त्यसपछि ०७८ वैशाखदेखि फेरि सुरु भएर जेठ ८ सम्म संकलन भएको थियो।

त्यसपछि विसं ०७८ गत साउन १ गतेदेखि फेरि मतदाता नामावली संकलन भइरहेको छ।

हाल पालिका स्तरमा भइरहेको नामावली संकलन पुस ८ सम्म हुनेछ। जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म नाम दर्ता जारी रहने प्रमुख फुयाँलले बताए।

आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नाम दर्ता गराउन आग्रहसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.