पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताए।

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन २०७८ को समापनका अवसरमा देउवाले यस्तो बताएका हुन्। २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो।

देउवाले उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्त्वपूर्ण सहयोग गर्ने सबै राष्ट्रहरू, अन्तरराष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिए।

प्रधानमन्त्री देउवाले भने, ‘विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनःस्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ। विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकूलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं।’

पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पुर्‍याएकोमा प्राधिकरणलाई धन्यवाद दिँदै पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तरराष्ट्रिय समुदायको सहयोग महत्त्वपूर्ण रहेको बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तरराष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकारात्मक अभ्यास तथा अनुभव आदानप्रदान भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा प्राप्त अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे।

सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामर्थ्यवान बनाउनुपर्नेमा जोड दिँदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय तहलाई सामर्थ्यवान बनाइनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपालका लागि चीनकी राजदूत होऊ यान्छी,  भारतीय दूतावासका प्रथम सचिव करुण वंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गरे।

सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थिति रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.