|

काठमाडौं : लमजुङमा जिप दुर्घटना हुँदा बिहीबार तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।

मर्स्याङ्दी गाउँपालिका–९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे हुँदै पिसहिल जाँदै गरेको ग१ज ६३१७ नम्बरको जिप भुष्मेको गोया खोल्सामा दुर्घटना भएको हो। तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना मगर, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी गाउँपालिका–९ की १३ वर्षीया छात्रा प्रमिशा गुरुङ र सोही ठाउँका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र गणेश भण्डारीको ज्यान गएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए।

शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिप लिएर पिस हिलमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको मध्ये एउटा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका आठ जनामध्ये ६ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।

जिपमा सवार १७ जना रहेकोमा मर्स्याङ्दी–९ बस्ने १४ वर्षीय विवेक विक र सोही ठाउँका ४७ वर्षीय चालक वीरेन्द्र थापाको टाउकोमा चोट लागेकाले जिल्ला अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारको लागि मनकामना अस्पताल चितवन रिफर गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीको भनाई छ।

जिप सडकबाट १ सय २० मिटर तल खसेको थियो। साँघुरो बाटोमा जिप ब्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.