|

कञ्चनपुर : कञ्चनपुरमा अशक्त अपाङ्गता भएका व्यक्तिका घरदैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ।

लुथरन विश्व फेडरेशनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।

आपत्‌कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताए।

शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, दोधारा‚ चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सयजना अशक्त‚ अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए।

‘सम्बन्धित पालिकासँग समन्वय गरी असक्त जेष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गको परिचयपत्र वाहक अपाङ्गता भएका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन गरेका छौं’‚  परियोजनाका अधिकृत हुडकेले भने, ‘पालिकाको सहयोगमा तथ्याङ्क लिने कार्यसँगै स्वास्थ्यकर्मीको व्यवस्था र खोपको व्यवस्था गरिएको छ।’

खोप लगाउने व्यक्तिको पहिचान गरी घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको उनले बताए।

‘अशक्त‚ ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू खोप केन्द्रसम्म पुग्न सक्दैनन्। खोपबाट कोही पनि नछुटून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौं’ उनले भने, ‘स्वास्थ्यकर्मी, औषधिसहितको टोली घरदैलोमै पुर्‍याउने कार्यका लागि सवारीसाधनको समेत व्यवस्था मिलाएका छौं।’

पाँचवटा पालिकाका अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई पहिलो चरणको खोप लगाउने कार्य गरिसकिएको उल्लेख गर्दै उनले बाँकी भीमदत्त, वेदकोट, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको बताए।

अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले अशक्त‚ ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी तथ्याङ्क उपलब्ध गराउनमा अहं भूमिका खेलेको उनको भनाइ छ।

प्रतिपालिकामा कम्तीमा दुई सयजना अशक्त‚ अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको अधिकृत हुडकेले बताए।

उनका अनुसार अभियानमा प्राविधिक सहयोग सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले उपलब्ध गराएको छ।

यसैगरी  परियोजनाअन्तर्गत यसअघि महाकाली प्रादेशिक अस्पताललाई सौर्य प्यानल सहित ३४ लाख रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको छ। जिल्लाका नौवटै प्रत्येक स्थानीय तहलाई ३५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.