|

म्याग्दी :  जिल्लाको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले हाई अल्टीच्युड खेलमैदान निर्माण गरिने भएको छ।

जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टीच्युड खेलमैदान निर्माण गर्न मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

टोड्केबाट आँखै अगाडी धौलागिरी, अन्नपूर्ण,निलगिरि सहित दर्जनबढी हिमश्रृंखला देख्न सकिन्छ। हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित खेल  मैदान निर्माणको कार्य शुरू भएको हो।

पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउन ठेक्का सम्झौता भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

‘हिमालको काखैमा निर्माण गरिने यो खेल मैदानलाई नेपालकै नमूना खेल मैदान बनाउने हाम्रो लक्ष्य रहेको छ, खेलकुदको माध्यमद्धारा पनि पर्यटक आकिर्षत गर्न सकिन्छ भन्ने उदाहरण हामीले टोड्केबाट दिने छौं’ अध्यक्ष भण्डारीले भने।

टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिकै गुराँसको घनाजंगल समेत रहेकाले सिजनमा राताम्मे गुराँस, चाँदीजस्तै टल्किने हिमाल हेर्दै खेलकुद गतिविधिको अवलोकनसमेत गर्न सकिने बताइएको छ।

खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि कूल ५ करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने जनाइएको छ।

नेपालमा हाइ अल्टीच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटकसमेत भित्राउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताए। ‘यहाँको सम्भावनालाई बेच्न सकेमा पर्यटक थामिनसक्ने आउँछन्, अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ’ उनले भने।

हाल पर्यटकीय स्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएका छन्। रघुगङ्गा गाउँपालिकाले पदमार्ग, उद्यान, सडक निर्माण गरिरहेको छ। गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

उनका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित  ५८ लाख दुई हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.