|
फाइल फोटो

पर्वत : गण्डकी प्रदेशमा चार महिनाको अवधिमा जुवा खालबाट एक करोड २० लाख रुपैयाँ बरामद भएको छ।

११ जिल्ला रहेको गण्डकीको सात जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म एक करोड २० लाख ४० हजार २७१ रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

उक्त अवधिमा बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ नपरेको पौडेलले बताए। सोही अवधिमा सबैभन्दा बढी ‘केस’ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा रहेको पाइएको छ। त्यहाँ साउनमा ६, भदौमा सात, असोजमा ६ र कात्तिक नौ वटा जुवासम्बन्धी मुद्दा दर्ता भएका छन्। एक महिला र १६५ पुरुष गरी १६६ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूको साथबाट १३ लाख आठ हजार २१४ रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

यस्तै‚ दोस्रोमा कास्कीमा केस धेरै रहेका छन्। पौडेलका अनुसार कास्कीमा साउन र भदौमा पाँच/पाँच तथा असोज र कात्तिकमा ६/६ वटा मुद्दा दर्ता भएका छन्। सोही अवधिमा १३३ पुरुष र ३४ महिलालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट ७१ लाख ६३ हजार १८० रुपैयाँ बरामद भएको छ।

पर्वतमा साउन, भदौ, असोज र कात्तिकमा बराबर दुई/दुई गरी आठवटा मुद्दा दर्ता भएको छ। ४३ जना पुरुष र छ जना महिला गरी ४९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १२ लाख ६२ हजार ८६ रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

यस्तै‚ लमजुङमा साउन, भदौ र असोजमा एक/एक तजा कात्तिकमा दुई वटा मुद्दा दर्ता भएको छ। उक्त अवधिमा एक महिला र ५० जना पुरुषलाई पक्राउ गरिएको र उनीहरूको साथबाट तीन लाख ७१ हजार ६५६ रुपैयाँ बरामद भएको छ।

सोही अवधिमा तनहुँका ७६ जना पुरुषलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरी नियन्त्रणमा लिएको थियो। भदौमा एक र कात्तिकमा पाँच वटा केस रहेको तनहुँबाट १४ लाख १३ हजार ९५० रुपैयाँ बरामद भएको छ। गोरखामा साउन, भदौ र कात्तिकमा जुवासम्बन्धी एक/एक मुद्दा दर्ता भएको छ। २२ जनालाई तीन लाख ४२ हजार ९२० रुपैयाँसहित नियन्त्रणमा लिइएको छ।

स्याङ्जामा साउनमा चार, भदौ र असोजमा एक/एक गरी ६ वटा जुवा केसमा ४१ जना पुरुष पक्राउ परेका छन्। उनीहरूको साथबाट एक लाख ७८ हजार २६५ रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

सूचना अधिकारी प्रहरी उपरीक्षक पौडेलका अनुसार महिनागत रूपमा तथ्याङ्कको मूल्याङ्कन गर्दा सबैभन्दा बढी कात्तिकमा २५ वटा जुवा सम्बन्धी मुद्दा दर्ता भएका छन्। यस्तै‚ साउनमा १९, भदौमा १८ र असोजमा १६ वटा मुद्दा दायर गरिएका छन्। कुल ७७ मुद्दामा पाँच सय ८० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.