|

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पनि सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। सभापतिमा समर्थन गर्न आफ्नो निवास पुगेका देउवालाई समर्थन गर्ने बताएका हुन्।

यस्तै‚ सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने बताइसकेका छन्। मंगलबार मध्यबानेश्वरस्थित आफ्नै निवास पुगेका देउवासँगको भेटपछि निधिले पहिलो चरणमा भएको मतदानको परिणामलाई आत्मासात् गरेर आफूले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सभापतिमा पूर्ण समर्थन गर्ने निर्णय लिएको बताएका हुन्।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा भएको निर्वाचनमा हामी जति उम्मेदवार थियौं‚ त्यसमा सबभन्दा बढी मत शेरबहादुर देउवाले पाउनुभएको छ‚’ उनले भने‚ ‘फेरि दोस्रो चरणको निर्वाचन हुनुपर्ने अवस्था आएकै छ। दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई नै समर्थन गर्ने मैले निर्णय गरेको छु।’

मंगलबार बिहान सिंह निवास चाक्सीबारी पुगेर देउवाले दोस्रो चरणमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।

सभापतिमा देउवा, सिंह‚ निधि‚ डा. शेखर कोइराला र कल्याण गुरुङ प्रत्यासी थिए। उनीहरुमध्ये कुनै पनि उम्मेदवारले बहुमत अर्थात् ५० प्रतिशत मत कटाउन नसक्दा पुनः दोस्रो चरणको चुनाव हुँदैछ।

कांग्रेस विधानअनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यदि ५० प्रतिशत नकाटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ। मंगलबार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव हुने भएको हो।

सभापतिका लागि कुल  ४६८१ मत खसेको थियो। मत परिणाम अनुसार देउवाले २२५८ अर्थात् ४८ दशमलव २३ प्रतिशत मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ अर्थात ३७ दशमलव ३७ प्रतिशत मत पाएका छन्।

प्रकाशमान सिंहले ३७१ अर्थात् ८ दशमलव दुई प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५ दशमलव ३१ प्रतिशत मतमा चित्त बुझाएका छन्। सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ० दशमलव ०४३ प्रतिशत मात्र हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.