|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले आफ्नो घरेलु मैदानमा खेलेको पहिलो खेलमा नै जित निकालेको छ।

आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा शनिबार पोखरा रंगशालामा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ‌ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लियो।

मनाङको जितमा कप्तान अञ्जन बिष्टले दुई गोल गरे। पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। खेलको ९ औं मिनेटमा मनाङले अग्रता बनाएको थियो।

मनाङका डिफेन्डरबाट आएको बलमा पुलिसका गोलरक्षक अघि बढेको अवस्थामा बल बाउन्स भएर उनलाई कटेपछि पाएको बलमा अञ्जन विष्टले सहज गोल गरे। एक गोलले पछि परेको पुलिसले ३४ औं मिनेटमा बराबरी गोल फर्काएको थियो।

मनाङका खेलाडीले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा मनाङले अग्रता बनायो।

७३ औं मिनेटमा अञ्जन विष्टले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे। तेस्रो गोल ८२ औं मिनेटमा निशान लिम्बुले गर्दै टिमको सहज जित निश्चित गरेका थिए।

जितसँगै मनाङले पाँच खेलबाट ४ जित र एक बराबरीका साथमा १३ अंक बनाएर मच्छिन्द्रलाई दुई अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.