|

काठमाडौं : वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन्। अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसा समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो आग्रह गरेका हुन्।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो छ। जसका कारण विभिन्न मुलुकमा पुगेर अलपत्र परेको भन्दै यसलाई राेक्नुपर्ने प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए।

पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए। यसरी विदेश जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेको उनको भनाइ छ।

यसरी विदेशमा बसेका श्रमिक महामारीको समयमा अझ  समस्यामा पर्ने गरेका छन्। यसैले भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ। 

कार्यक्रममा बोल्दै एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए।

उनका अनुसार भिजिट भिसामा जाने मानिस भनेको घुम्न जाने भएकाले कामदारले उक्त कार्य बुझ्नुपर्छ। कामदारको मात्रै नभएर सरकारको कमजोरीले पनि भिजिट भिसामा जाने श्रमिक बढ्दो रहेको  उनको भनाइ छ। 

नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ। कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्। उनले भने, ‘कामदारलाई छिटो र सहज ढङ्ग खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ।’

श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतमा पनि रहेको बताए। भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धित सरोकारवाला जानकार भए पनि कडाइ गर्न नसकिएको उनको भनाइ छ।

उनले भने, ‘यो समस्या समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुनुपर्छ। समस्या समाधानका लागि डिप्लोम्याटिक पहल आवश्यक छ।’  

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएशनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले अज्ञानीभन्दा सबैभन्दा बढी जाने नेपाली भिजिट भिसामा जाने गरेको बताए ।

भिजिट भिसामा जाँदा व्यवसायीहरू पनि मारमा पर्ने र श्रमिक पनि समस्यामा पर्दा कुनै सरकारले प्रदान गर्ने सेवा सुविधा नपाउने उनले जिकिर गरे।

उनले भने, ‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अंगभंग भएमा ७ लाख पाउने र विरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ।’ उनका अनुसार भिजिट भिसामा धेरै समस्या स्विकार्दै उक्त समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्छ। साथै, भिजिट भिसामा पठाई मोटो रकम उठाउने व्यापार बन्द गर्नुपर्ने उनको भनाइ छ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिसामा जाँदै नजान आग्रह गरे। उनले भने, ‘भिजिट भिसामा जाने तर काम गर्ने र पैसा कमाउने उद्देश्यले जाने अहिले नेपालीको संस्कृति जस्तो भइसकेको छ। यसरी जाँदा उहाँहरूले दुःख पाउनु भएको छ।’ 

सरकारले म्यानपावर कम्पनीका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए। सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाइ गर्नुपर्ने उनले उल्लेख गरे। 

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताए। उनले भने, ‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ‚ त्यो दलाल हो। आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो। अर्को भारतको बाटोमार्फत पनि युवाहरू भिजिट भिसामा जाने गरेका छन्।’

लामो यात्रा ९० दिन र छोटो ३० दिनका लागि जाने गरेको उनले बताए। 

सरकारको दलाली र विदेशमा गएका व्यक्तिमार्फत भिजिट भिसा मौलाउँदै गएको उनले जिकिर गरे। भिजिट भिसामा दक्ष र शिक्षित युवाहरू नै गइरहेको समेत कार्यवाहक अध्यक्ष तामाङले उल्लेख गरे। 

‘एउटा म्यानपावरको व्यक्तिले सेटिङ गरेर पठायो। यो निजी क्षेत्रको दलाली हो तर भिजिट भिसामा जान दिने त अध्यागमन होइन। त्यसले सरकारको जागिर खाँदा कसम खाएको थियो होला नि त। किन जान दिइयो । किन पत्ता लगाइएन ?,’ उनले प्रश्न गरे।

आइएनजिओ र एमएसओहरूले पनि पाँचतारे होटलमा कार्यक्रम गर्ने गरेको तर समस्या सुल्झाउन कुनै पहल नगरेको भन्दै उनले दुःख व्यक्त गरे।

वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो १८ वर्षको अनुभव भए पनि आफैँले बुझ्न नसकेको उनले बताए। सबै ट्राभल तथा म्यानपावर व्यवसायीलाई सरकारले कडाइ गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्दत पुग्ने कार्यवाहक अध्यक्ष तामाङको भनाइ छ। 

ट्राभल एजेन्सी र कन्सल्टेन्सीले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै उनले दुःख व्यक्त गरे। 

यस्तो समस्या आउन नदिन वैदेशिक रोजगारमा जाने व्यक्तिहरू सचेत हुनुपर्ने उनले बताए। ‘सरकार सुध्रिने हो भने आजबाट सबै समस्या सुल्टिन्छ’, उनले भने, ‘सरकारको कर्मचारी संलग्न हुने हो भने यो समस्या सधैँ रहिरहन्छ।’

पछिल्लो समय युरोपियन मुलुकहरूमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको उनले औँल्याए। मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मणिराम भट्टले वैदेशिक रोजगारमा जाँदा कसैले राम्रो काम पाउने र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि रहने बताए। 

अप्ठ्यारोमा परेकाहरू पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भट्टले उल्लेख गरे। ‘सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस्। यसरी जाँदा समस्यामा परिन्छ। यसरी जाँदा धेरै मानिसहरू बेचबिखनमा परेका बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.