'नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गराउनुपर्छ'

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेहरूलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन्। आइतबार फेसबुकमा लेख्दै लाखौँ मधेशी नागरिकको नागरिकता नभएकाले सबैलाई मतदाता प्रक्रियामा सहभागी गराउन माग गरेका हुन्। 

अध्यक्ष यादवले लेखेका छन्, ‘निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु  र नागरिक हुनु दुवै फरक विषय हुन्। नागरिकता प्रमाणपत्र नभएको अथवा  राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुनसक्दैन।’

लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको उनको भनाइ छ। 

‘लाखौं मधेशीलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन। यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचन प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य अवैधानिक हुनुका साथै अन्तरराष्ट्रिय कानुनविपरीत र मानवताविरोधी कार्य हुन्’‚ उनले लेखेका छन्। 

उनले निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था नभएको उल्लेख गरेका छन्। नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो? भन्दै प्रश्न गरेका छन्। 

अध्यक्ष यादवले लेखेका छन्, ‘सबै नेपाली नागरिकको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्छ। निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्‍याऊन्। कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट वञ्चित नपारियोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.