|

पर्वत : कुश्मा नगरपालिका–११ शिल्मीको चल्सेमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ।

गत भदौ १७ गते राति घरमाथिबाट आएको पहिरोमा परी चल्सेका हरिप्रसाद पौडेलकी ४० वर्षीया श्रीमती मायाकुमारी, तीन वर्षीय छोरा प्रयूष र ७० वर्षीया आमा डल्लीको मृत्यु भएको थियो। रोजगारीको सिलसिलामा दुबईमा रहेका हरिप्रसादका छिमेकी शैलेन्द्र हमालको नेतृत्वमा आर्थिक सहयोगको अभियान चलाइएको थियो। उक्त अभियानमार्फत संकलन भएको दुई लाख ७० हजार ७५९ रुपैयाँ पीडित पौडेललाई हस्तान्तरण गरिएको हो।

‘घरका तीन जना मान्छे पहिरोमा परेर गुमाउनुको पिडा भनी सक्नुको कहाँ हुन्छ र? दुःखेको घाउमा थोरै भए पनि मलम लगाऊँ भन्ने उद्धेश्ले प्रताप तिमिल्सिना, पीताम्बर सुवेदी र गोविन्द रिमालजी को सल्लाहमा आर्थिक सहयोग जुटाउने प्रतिबद्धता गरिएको थियो,’ दुबईमा रहेका हमालले भने, ‘दुःखमा रहेको परिवारलाई सघाउन जसले जति सक्नुभयो उति सहयोग गर्नुभयो। सहयोगी सबैप्रति कृतज्ञ छौँ।’

दुबई सहित अस्ट्रेलिया, अमेरिका, कोरिया, जापान, बेलायत, कतार, साउदी अरेबिया,लगायतका देशमा रहेकाहरू तथा नेपालकै काठमाडौँ, पोखरा, चितवन, पर्वत लगायतका ठाउँमा रहेका केही व्यक्तिहरूले अभियानका लागि आर्थिक सहयोग गरेका थिए। स्थानीय भगवती प्राथमिक विद्यालयका प्रधानाध्यापक गोविन्द रिमाल, न्यु स्टार क्लबका अध्यक्ष सन्तोष बम मल्ल लगायतको उपस्थितिमा शनिवार उक्त रकम पहिरो पीडित पौडेललाई हस्तान्तरण गरिएको हो।

अभियानमार्फत नै पहिरोमा परी मृत्यु भएका तीनै जना माया, प्रयूष र डल्लीको नाममा स्थानीय भगवती प्राथमिक विद्यालयमा ३३ हजार राशिको अक्षयकोष पनि स्थापना गरिएको छ। अक्षयकोषबाट आउने ब्याजले प्रकोप वा विपद्मा परेर समस्यामा रहेका बालबालिकाहरूलाई प्राथमिकतामा राख्दै गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिने प्रधानाध्यापक रिमालले बताए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.