'ज्ञान र सीपलाई समाज विकासमा निर्धक्क लगाउन पाइयोस्'

|

काठमाडौं : आज त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४७औँ दीक्षान्त समारोह। कुल २९ हजार ७ सय २९ जना विधार्थी दीक्षित भए।

जसमा २०७७ साल असार १ गतेदेखि २०७८ साल जेष्ठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिई ५९औँ ग्रेस लिष्टमा समावेश भएका विद्यावारिधि, डिएम, एमसिएच,दर्शनशास्त्री, स्नातकोत्तर र स्नातक तहका विद्यार्थी छन्। तिनैमध्येका एक हुन् डा.विष्णु प्रसाद उपाध्याय। 

उनी उमेरले ६० वर्ष पार गरी ६१ मा टेके। तर, उमेर उनको पढाइ रोकिएन। त्यसो त आज माइक्रोबायोलोजी विभागबाट पिएचडी गरे। झनै त्रिवि र प्रधानमन्त्री शेरबहादुर देउवाबाट दीक्षित हुन पाउँदा उनमा खुशीको सीमा नै छैन उनमा। त्यही अवस्थामा उनी सोमबार त्रिविको परीक्षा नियन्त्रण कार्यालय प्राङ्‍गनमा देखिन्थे।

‘यो अवस्थामा आइपुग्नु मेरो धैर्यता र परिश्रमको फल मान्दछु,मैले उमेरलाई हेरेर पढाइ छाडेको भए,यो अवस्थामा देखिन सक्दिनथेँ होला,’ उनी मुस्कुराउँदै भन्छन्।
उनले इन्फ्लुएन्जा भाइरससम्बन्धी अनुसन्धान गरि विद्यावारिधि गरेका हुन्।

यसमा लाग्नुको पनि कारण उनमा छ। ‘म माइक्रोबायोलोजी विद्यार्थी हुँ, २००९ मा इन्फ्लुएन्जा भाइरस देखियो,यो के कारणले देखिएको र यसबाट कसरी धन रजनको क्षतिबाट बचाउने भनी मैलै यसैमा अध्ययन गर्ने सोच बनाएँ,’उनले भने।

उदयपुर जिल्लाका विष्णु यो उमेरमा आइपुग्दा विद्यावारिधि मात्रै सकेका छैनन्। सरकारी सेवाबाट अवकाश प्राप्त भइसके। उनले ३० वर्षसम्म स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याए।

​‘स्वास्थ्य मन्त्रालयअन्तर्गत नारायणी उपक्षेत्रीय अस्पताल,लगायत बाहिर जिल्लामा काम गरे,अन्तमा १४ वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काम गरे,गत वर्षमात्र अवकाश पाएँ,यस अवधिमा महामारीको खोज गर्ने र आफ्नै मुलुकमा एड्सलगायत परीक्षण गर्नेको सेवाको विकास गरेँ,’निर्धक्क साथ भने।

तराईदेखि विदेशसम्म अध्ययन यात्रा

विष्णु सानैबाट अध्ययनमा धेरै रुचि राख्थे। उनको मिहिनेत देखेर नै अध्ययनका लागि अभिभावकले सानैमा उनलाई सिरहा लगे। कक्षा १० सम्म त्यहीँ अध्ययन गरे। एसएलसी पास गरेपछि २०३५ सालमा काठमाडौं आएर महाराजगञ्ज क्याम्पसमा अध्ययन गरे। 

‘मैले माष्टर भने थाइल्याण्डबाट गरेको हुँ,’उनले भने,‘त्यसपछि त्रिविको केन्द्रीय माइक्रोबायाेलोजी विभाग विद्यावारिधि गर्न दर्ता गरे,त्यहीँबाट आज दिक्षित भएको हुँ।’

उनी सरकारी अवकाश प्राप्त गरे पनि विभिन्न भाइरसबारे अध्ययन गर्न उनको अझै शोख छ। त्यसैले त उनी भन्छन्,‘दीक्षित भएपछि अब देशलाई कसरी विकास र स्वास्थ्य सुरक्षामा अझै टेवा पुग्ने भन्ने नैतिक जिम्मेवारी थपेको छ,भाइरसको जीवाणु अध्ययन गरी पत्ता लगाइनेछ।’

यसका लागि भने सरकारले स्रोत साधनको व्यवस्था गर्नुपर्ने उनको माग छ। ‘म जस्तै धेरै जना आज दीक्षित भएका छन,सरकारले यति मात्र गरेर हुँदैन,रोजगारीको सिर्जना गर्न आवश्यक छ,’उनले भने।

उच्च शिक्षासँगै थपियो चुनौती

अर्का विष्णुकुमार स्यांजाली पनि दीक्षित हुन पाउँदा धेरै खुशी छन र उनमा चुनौती पनि थपिएको बताउँछन्। ‘उच्च शिक्षा लिएर देशमा अब के गर्ने?,राज्यले आफूमा भएको ज्ञान सीपलाई बाँड्न दिन्छ दिँदैन?,यहाँ त आफ्नै मात्रै सोच्ने व्यवस्था छ,पहुँचको शक्तिमा चलेको छ, त्यसैले चुनौती पनि थपिएको छ,’उनले भने

स्याङजाका कृष्ण त्रिवि समाजशास्त्रबाट विद्यावारिधि गरेका छन्। त्यसो त समाजका गतिविधिबारे अध्ययन अनुसन्धान गर्ने उनको सोच छ। ‘यहाँ भएका रैथाने आदिवासीको ज्ञानको विकास गर्नेछु,समाजका गतिविधिको अध्ययन गरी समाजलाई विकासतर्फ दाेहाेर्‍याउन योगदान गर्नेछु,’उनले दीक्षितपछिको योजना सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.