|

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन्।

एमाले अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसिसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन्।

उनले नेपाल र अमेरिकाबीचको एमसिसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाइन तान्ने कुरा कहाँबाट आयो? भन्दै सरकारसँग प्रश्नसमेत गरे। उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गरे।

सांसद सुवालले भने,  ‘नेपालको बिजुली भनेको नेपाललाई नै चाहिन्छ। एमसिसी सम्झौता भनेको नेपालको बिजुली भारत हुँदै सिंगापुर लाने हो। एमसिसी सम्झौताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाइन तान्ने उल्लेख छ। अमेरिका र नेपालको सम्झौतामा गोरखपुरसम्म बिजुलीका लाइन तान्ने कहाँबाट आयो? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसिसी सम्झौतालाई समर्थन गर्न सक्दैनन्। एमसिसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन्। यसमा कुनै फरकै छैन। यो विषयमा सदन र सरकारको ध्यान जाओस्।’

सांसद सुवालले एमसिसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्तासमेत औंल्याए। उनले एमालेले अवरोध गरिरहेका बेला संसद् बैठक सुचारु गराउन नहुने अडान पनि दोहोर्‍याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.