विकासका काममा लापर्बाही

|

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।

सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।

मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।

आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभावले समस्या उत्पन्न भएको बहाना बनाउँदै सम्पर्कविहीन भएका ठेकेदारका कारण घरआँगनमै फराकिलो र सफा सडक देख्ने चाहना पूरा नभएको तोलाबाङका कुलबहादुर गुरुङले बताए।

‘धुलोसँगै ठूला खाल्डाखुल्डी पोखरी बनेको छ, सडकको नाममा ठेकेदारले मनपरी गरेका छन्’, गुरुङले भने। उनले काम नगर्ने ठेकेदारलाई जिल्लामै पुगेर कारबाही गर्न माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे। सडक विस्तार नहुँदा सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुने गरेको छ। 

‘सडकैभरी खाल्डैखाल्डो छ, खाल्डाभरि जमेको पानी छ’, स्थानीय दुर्गा सुवेदीले भनिन्। सडक विस्तार गरेर कालोपत्रे गर्न स्थानीयले सहयोग गरे पनि ठेकेदार भागेको उनले बताइन्। सडक विस्तारका क्रममा तोलाबाङ आसपासका क्षेत्रमा रहेका स्थानीयको घरजग्गा जोखिममा परेको सुवेदीको भनाइ छ। 

विकास निर्माणका काम समयमै नगर्ने र बहाना बनाउने निर्माण कम्पनीका कारण सडक साँघुरिएको छ। बीच सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले पैदलयात्रु र सवारीसाधन समेत जोखिममा परेको सागर गुरुङले बताए।

ठेकेदारले मापदण्डविपरीत नदीजन्य बस्तु उत्खनन गर्दा गावै जोखिममा परेको बताउँदै सडकलाई आवश्यक पर्ने सामग्री निकाल्ने बहानामा नदीमा मनपरी भइरहेको बताए।

आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो।

पूर्वाधार विकास कार्यालय, म्याग्दीका कार्यालय प्रमुख सन्तोष अर्यालले ठेकेदारले सरोकारवाला तथा जनप्रतिनिधिलाई साक्षी राखेर निर्माण कार्य सम्झौताअनुसार नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि कम्पनी सञ्चालक पनि बेखबर भएको बताए।

‘प्रगति करिब ५० प्रतिशत मात्रै पुगेको छ। हामीले बारम्बार ताकेता गरिरहेका छौँ’, प्रमुख अर्यालले भने।

ठेक्का पाएको निर्माण कम्पनीलाई सम्पर्कमा आएर काम नगरे ठेक्का सम्झौता तोड्ने चेतावनीपछि एक साताभित्रै काम गर्ने प्रतिबद्धता जनाएको बताए।

ठेक्का सम्झौता भएको लामो समय बितिसक्दासमेत सडकमा देखिएको समस्या समाधान गर्न कार्यालयले नियमित अनुगमन तथा ठेकेदारलाई लिखित र मौखिकरूपमा चेतावनी समेत दिइएको प्रमुख अर्यालको भनाइ छ।

उक्त खण्डमा चैतसम्म मात्रै म्याद थपिएको छ। यता बिरुवा–क्याराभानका प्रतिनिधिले आयोजनास्थलबाट सम्पर्कविहीन नभएको दाबी गरेका छन्।
सडकमै आफ्ना ठूला मेसिनसहित निर्माण सामग्री भएकाले अब सम्झौता मितिमै काम सकिने जनाएको छ।

ठेकेदारले म्याग्दीका निर्माण व्यवसायीसँग सहकार्य गरी निर्माणको काम गर्ने गरी पूर्वाधार कार्यालयका इन्जिनियरल सहितको टोलीलाई साइट भिजिट समेत गराइसकेको बताएको छ।

पश्चिम क्षेत्रका मंगला, मालिका र धौलागिरि गाउँपालिका तथा छिमेकी बागलुङको ताराखोला, बुर्तिवाङ र रुकुम जिल्लाका केही बस्तीलाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीनवटा प्याकेजमा स्तरोन्नति भइरहेको छ।

दोलखाबाट प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिप छिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानान्तर कन्स्ट्रक्सनको लामा–समानन्तर जेभीले १२.५ किलोमिटर सडकमध्ये बेनीदेखि तातोपानीसम्मको ९ किमी सडकमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम तिब्र गतिमा भइरहेको छ।

सोही कम्पनीले तातोपानी–सिमसम्मको ३. ५ किमी सडकमा कामै गरेको छैन। सडकलाई ११ मिटर चौडा बनाई ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिइएको थियो।

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कच्ची र धुले सडकको यात्राबाट आजित भएको बताउँदै नियामक निकायमा दर्जनपटक गुहारे पनि सुनुवाइ नभएको बताए।

तीनवटा प्याकेजमा स्तरोन्नति भइरहेकोमध्ये मंगलाको सिमदेखि लाम्पाटासम्मको ३.६५ किलोमिटर सडक स्तरोन्नतिका लागि २ करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौता भएको छ।

मापदण्डअनुसार सडक विस्तारको क्रममा आयोजना र निर्माण व्यवसायीबाट सयौं स्थानीयवासी पीडित छन्। साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो।

जिल्लाका सडकको नियमन र सुपरिवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गरे पनि पहुँचवाला ठेकेदारका कारण कार्यालयको दबावलाई समेत बेवास्ता गर्ने गरिएको छ।

तिरेनन् उधारो खाएको रकम

मालिका गाउँपालिका–६, तोलाबाङकी दुर्गा सुवेदीले आफ्नै घर अगाडि सडकमा काम गरिरहेका ठेकेदारलाई दिएको उधारो सामानको पैसा अझै पाएकी छैनन्।

घरआँगन भएर सडक विस्तार भइरहेको देखेर उनले ठेकेदारको चाहनाअनुसार उधारोमा खाद्यान्न लगायतको सामान दिए पनि महिनौं बितिसक्दा पनि उधारो खाएको रकम भुक्तानी नहुदाँ मर्कामा परेकी छन्। ‘पसलको पैसा तिरेनन्, म जस्ता धेरै मर्कामा परेका छौँ’, सुवेदीले भनिन्। उनले समयमै भुक्तानी नपाउँदा समस्या भएको बताइन्।

काम छोडेर भागेका ठेकेदारले पैसा नतिरेपछि स्थानीयले डोजर र ट्याक्टर समेत नियन्त्रणमा लिएर राखेका छन्। लाम्पाटा–दरबाङ खण्डमा ठेकेदारले स्थानीयको ३५ लाख भुक्तानी गर्न बाँकी रहेको पूर्वाधार कार्यालयका प्रमुख अर्यालले बताए।

ज्याला नपाएपछि श्रमिकले काम छोडेको र भुक्तानीका लागि समेत ताकेता गरिएको छ।

राम्रा काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिने र प्रोत्साहन गर्ने तथा ढिलासुस्ती गर्ने, समयमै काम नसक्ने, गुणस्तर कायम नगर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनीपछि सर्वसाधारणको भुक्तानीको प्रतिबद्धताअनुसार रकम पठाउन थालेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.