|

काठमाडौं : इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा हो 'ऑंगन छोडेपछि'। जुन पुस्तक शुक्रबार सार्वजनिक हुँदैछ।

विशेष कारण वा विदेशिनुपर्ने सन्दर्भ, तात्कालीन मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्व साथै विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूको संकलनका रूपमा पुस्तकलाई चित्रण गरिएको छ।

ऋषिराम पराजुली, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशव शर्मा, केशवराज ज्ञवाली, गोविन्दप्रसाद गौतम,  जीवा लामिछाने,  प्रमोद अमात्य, नगेन्द्र न्यौपाने,विजयराज भट्टराई,  मधु माधुर्य, मनोज कार्की, राजन महर्जन, सतिश त्रिपाठी, सन्तोष न्यौपाने, शर्मिला पोखरेल र सुशील ताम्राकार गरेर १७ जनाले आफ्ना परदेशी अनुभव पुस्तकमा समावेश गरेका छन्।

पुस्तकलाई सम्पादन कृष्ण कुसुम र केशवराज ज्ञवालीले गरेका हुन् भने सम्पादन समूहमा कृष्ण ज्ञवाली, सतिश त्रिपाठी, विजयराज भट्टराई रहेका छन्। लेखकको व्यक्तिगत अनुभवलाई सम्पादनसमेत गरेका सम्पादकमध्येका एक कृष्ण कुसुमसँग थाहाखबरका लागि राजु पौडेलले पुस्तकबारे बुझ्ने प्रयास गरेका छन्।

कथा लेखन, गजल लेखन, कथा सम्पादन अहिले संस्मरण सम्पादन कार्य सम्भवत: संस्मरण सम्पादन यात्रा तपाईंको 'भर्जिन यात्रा' हो। अनुभव कस्तो रह्यो?  

पक्कै पनि मैले अरू सबैले जसरी नै कविता लेखनबाटै साहित्यिक यात्रा सुरु गरेको हुँ। प्रकाशनको हिसाबले २०६३ मा ‘गजलसंग्रह’ पहिलो पुस्तकको रूपमा आएपछि मेरो नाममा गजलकार ट्याग लागेको हो।

२०६३ र ६४ बाट फुटकर कथा लेख्दै प्रकाशन गर्दै आएको छु। यो बीचमा यस्तै प्रकारको केही पुस्तकको सम्पादन गरिसकेको हुँ। यो क्रम २०१२ मा नुवाकोटेली २४ कथाकारको संयुक्त कथासङ्ग्रह ‘हस्ताक्षर’बाट सुरु भएको हो।

२०२० को जनवरीमा उत्तर अमेरिकामा बसोबास गर्ने २४ कथाकारहरूले यतैको विषयवस्तुमा लेखेका कथाको सँगालो ‘परदेशका कथा’ पनि सम्पादन र प्रकाशन गरेको थिएँ। त्यस्तै, एन आर एन भाषा साहित्य विभागले प्रकाशन गर्न लागेको संयुक्त गजलसंग्रह को पनि सम्पादन गरेर पठाइसकेको छु।

यो हिसाबले भन्दा सम्पादन यात्रा मेरो लागि खासै ‘भर्जिन यात्रा’ हो जस्तो लाग्दैन। तर, पनि हरेक कामहरू फरक-फरक प्रकृतिका हुने कारणले हरेकको आ-आफ्नै छुट्टा छुट्टै अनुभव भइहाल्छ। यो चाँहि इञ्जिनियर लेखकहरूलाई नै केन्द्रित गरेर संकलन रचना संकलन गरेको भएर अरूभन्दा पक्कै फरक अनुभव भयो नै।

मूलतः एउटै पेशा र विषयसँग सम्बन्धित लेखकहरू हुनुको ट्युन मिलेर पनि काम गर्न अझै मज्जा लागेको पुस्तक हो।

विभिन्न भूगोलमा बस्ने इञ्जिनियरको फरक-फरक अनुभव पक्कै छन्। के उनीहरूका संवेदना पृथक् छन्? उस्तै पेशा भएकाले अनुभव पनि उस्तै छन्?

खासमा भन्नै हो भने सबैको आ-आफ्नै कथा व्यथा हुन्छन्। चाहे इञ्जिनियर होस् वा अरू गैरइञ्जिनियर। यो पुस्तक चाँहि हामी अहिले कहॉं के गर्दैछौं भन्दा पनि मूलत: विदेश आउनुको सन्दर्भ, तात्कालिक मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्व साथै विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूको संकलन हो।

नेपालमा यौटा करिअर बनिसकेर वा बन्ने क्रमको मान्छेले त्यी कुरा चटक्कै छोडेर आउँदा  नयाँ परिवेशमा आफूलाई कसरी अगाडी बढायो भन्ने कुरा नै मुख्य विषय भएकाले भोगेको समय र परिवेश फरक भएर पनि संवेदनामा धेरै नै समानता छ जस्तो लाग्छ।

'आँगन छोडेपछि' शीर्षक पढेपछि यसको विम्ब देश छोड्नुसँग जोडिन्छ भन्ने मेरो अनुमान हो। संस्मरणहरू बढीमा बढी आँसु केन्द्रित छन् भन्ने अनुमान गलत हुन्छ कि हुँदैन?

हो! तपाईंको अनुमान सही छ। ऑंगन छोडेपछिको विम्ब देश छोड्नुसँग नै सम्बन्धित हो। आफ्नो परिवेश छोड्ने निर्णयमा पुग्नु र नयॉ परिवेशमा आफ्नै गोरेटो कोरेर फराकिलो बाटोको यात्रामा लाग्ने बेलाको सम्‍झनाहरू समेटिएका छन् यहॉं।

 त्यसैले पनि केही हदसम्म केही दुःखका कुराहरू पक्कै पनि आएका छन्। त्यसो भन्दैमा यो पुस्तकलाई ऑंसु केन्द्रित भनिहाल्न नमिल्ला। यहॉं समेटिएका इञ्जिनियरहरूले नयॉ समाजमा संघर्ष गरेर कयौं लोभलाग्दा उचाई पनि छोएका छन्। त्यो सबै बाटोको यौटा छोटो दस्तावेज 'आँगन छोडेपछि' हो भनेर बुझ्दा राम्रो होला।

अझ शीर्षकमा केन्द्रित हौँ न, घर छोडेर शहर जानु र देश छोडेर परदेश भासिनु यी दुवै आफू जन्मेको माटोसँग छुट्टिनु हो। इञ्जिनियरले आफ्नो संस्मरणमा पुस्तकलाई सार्थकता दिन कसरी 'इञ्जिनियरिङ' गरेका छन्?

इञ्जिनियर यौटा पेशाकर्मी मात्र नभएर एउटा व्यक्ति पनि हो। यौटा व्यक्तिले आमा र बाबु, छोरा र छोरी र श्रीमान वा श्रीमतीको विविध रुपमा भोगेको भोगाइहरूलाई इमानदारीपूर्वक लेखिएको संकलन हो। हाम्रो सुरुवाती उद्देश्यअनुसार नै किताबको ढाँचा तयार भएकोले संस्मरण लेखनलाई सबै लेखकहरूले इमान्दार रूपमा लेखनको ‘इञ्जिनियरिङ’ गरेका छन् भन्न सक्छु।

१७ इञ्‍जिनियरका संस्मरण आम मान्छेले किन पढ्ने? पढ्नैपर्ने आधार केके छन्?

यो किताब पढ्नैपर्ने कारणहरू १, २, ३ गरेर भन्न त सकिन्न।  इञ्‍जिनियरहरू विभिन्न भैतिक संरचना र अन्य विकासका अग्रपङ्तिमा उभिएर काम गर्छन्। संसारका सबैभन्दा विकसित भनिने समाजमा नेपाली समाजले तयार गरेका नेपाली इञ्‍जिनियरहरूले विविध परिचय धारण गरेका छन्।

इञ्‍जिनियर अभियन्ता,  व्यापारी र शिक्षक आदि। विदेशिएका इञ्जिनियरहरूको भोगाइ, अनुभव र अनुभूतिको चित्र कोर्ने प्रयास हो यो पुस्तक। यस पुस्तकमा तिनै इञ्जिनियरहरूका अनुभूतिका आयामहरू पढ्न सकिन्छ।

अनुभवको कुनै सीमा हुँदैन। पुस्तकमा अक्षरको सीमा पक्कै छ। सीमामा बाँधिएर लेखिएका संस्मरणले लेखकको अनुभवलाई न्याय गर्ला र?

हो अनुभवको सीमा हुँदैन। तर पुस्तक निकाल्दा अक्षरका  सीमारेखा भित्र बॉँधिनु पर्ने बाध्यता हुन्छ नै। यी कुरालाई मध्यनजर गरेरै हामीले रचना माग्नुपूर्व केही पूर्व-तयारी गरेका थियौँ।

(यहाँ हामी भनेर सम्पादन र व्यवस्थापनका पाँचजना विजयराज भट्टराई, कुसुम ज्ञवाली, सतिश त्रिपाठी, केशवराज ज्ञवाली र म)। लेखमा छुटाउनै नहुने पॉच र ६ वटा बुँदाहरू तयार गरेर त्यसैको पेरिफेरीमा रहेर ३५०० शब्दमा नबढाइ लेख मागेकोमा सकेसम्म त्यही सीमाभित्र रहेर अधिकांश रचना आएको थियो।

अनि दुई/तीन सय शब्द बढी भए पनि समावेश गरेका छौँ।  सबैको अनुभूतिलाई समेट्न सकेसम्म न्याय गर्ने कोसिस गरेका छौँ।

१० कविको ३० कविता, १० गजलकारको १०० गजल, १५ कथाकारका १५ कथा र १८ निबन्धकारको १८ निबन्ध भन्ने खालका पुस्तक सार्वजनिक भइरहेको अवस्थामा १७ इञ्जिनियरका १७ संस्मरण आउँदैछ। यसले नेपाली साहित्यमा कस्तो प्रभाव पार्न सक्छ?

खासमा हामीले १७ इञ्जिनियर मात्रै चुनेका थिएनौँ। कोरोनाको समयमा केही इञ्जिनियर लेखकबीच सहकार्य होस् भन्ने उद्देश्यले यो पुस्तकको अवधारणा आएको हो। जसमा आफ्नो आँगन छोडेर हिँडेका दक्ष प्राविधिक जनशक्तिको विदेशी समाजको अनुभव र यहॉंसम्म तय गरेको बाटोको सिंहावलोकन जोडिएको होस्।

प्रवासमा बसेर लेखिरहेका २६ इञ्जिनियर लेखकसँग रचना मागिएकोमा १९ वटा रचना आएको थियो। २ वटा हामीले मागेको ढाँचामा नपरेकोले अन्तिममा १७ रचना संकलन गरिएको हो। नेपाली साहित्यमा प्रभाव पार्नुभन्दा पनि देशभित्र रहनेहरूले परदेशिएका इञ्जिनियरहरूको जीवनयात्राको अनुभव साझा गर्ने हाम्रो उद्देश्य हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.