|

काठमाडौं   : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। गुल्मी,  धनुषा,  तनहुँ, कपिलवस्तु र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

गुल्मी, दरबार गाउँपालिका-४ वीरबासस्थित सडकमा वीरबासदेखि भेडुवातर्फ जाँदै गरेको लु१७ प ६४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका वीरबास बाख्रे बस्ने ३० वर्षीय पदम ढेगाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकलमा सवार १ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

त्यस्तै, धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ जमुनिवास बस्ने २८ वर्षीय तुलसी आले मगरको बिहीबार घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

त्यसैगरी, तनहुँ,  भिमाद नगरपालिका-६ सिमबोटस्थित सडकमा पार्किङ गरी राखेको ग१त ३७६९ नम्बरको ट्याक्टरमा बा१५प ४०९३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक ऋषिङ गाउँपालिका-७ घर भई हाल भिमाद नगरपालिका-६ डेरा गरी बस्ने २६ वर्षीय प्रकाश रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु,  कपिलवस्तु नगरपालिका-२ स्थित सडकमा लु८०प ८१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका सागर टोल बस्ने ३५ वर्षीय मनोज लम्सालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै, सर्लाही,  बरहथवा नगरपालिका-९ सोल्टी गेटनजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको बा९७प ६२३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने १८ वर्षीय चन्दनकुमार यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेनस अस्पताल बरहथवा हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भेनस अस्पताल बरहथवामा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.