|

बझाङ : सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्‍याउने र अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्‍याउने निर्णय भएको बताइन्।

हाल मष्टामा ९ वटा वडा र रामारोशनमा हाल ७ वटा वडा रहेका छन्। उनले भनिन्, ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो। सबै प्रक्रिया पुगेकाले हामीले संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ।’

तत्कालीन अवस्थामा एउटा गाविस एउटा वडा बनाइएको र हाल भौगोलिक विकटता रहेकाले वडाको संख्या बढाउन पालिकाले सिफारिस गरेको मष्टा गाउँपालिकाकी उपाध्यक्ष भगवती बोहराले बताइन्।

व्यवहारिक रूपमा काम गर्न तथा जनतालाई सेवा दिन असहज भएकाले ठूला वडा विभाजन गर्न गाउँ सभाबाट निर्णय भएको उपाध्यक्ष बोहराको भनाइ छ।

हाल बझाङ जिल्लामा १२ पालिका र ९४ वडा छन्। मष्टामा वडा विभाजन भए वडाको संख्या ९६ पुग्नेछ। अछाममा १० पालिका र ९१ वडा छन्। रामारोशनमा वडा विभाजन भए जिल्लामा वडाको संख्या ९६ पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.