|

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा गाडीमा आगजनी तथा तोडफोड गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेको हो।

बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले नरहा गाउँपालिका–३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन्।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ।

जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ। उनीहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्।

झुटो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान नगरेकाले बिहानैबाट जनजीवन तनावग्रस्त बनेको छ।

बन्दका कारण आज बिहानैदेखि लहानसहित सिरहाको मिर्चैया, गोलबजार लगायतका बजार, पसल, कलकारखाना ठप्प छ भने राजमार्गमै सवारी साधनहरू रोकिँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। 

औरही गाँउपालिकाले गहुँको बीउ लुटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ।

गाउँपालिकाले किसानलाई वितरण गर्नकै लागि स्वास्थ्य केन्द्र औरहीको भवनमा गहुँको बीउ राखेको थियो। तर वितरणमा ढिलाई गरेपछि किसानहरुले गहुँ कब्जामा लिएका छन्। तर गाउँपालिका अध्यक्ष सिदार्थ यादवले राजनीतिक प्रतिशोधका कारण चार जनालाई फसाएको जनमत पार्टीको ठहर छ।

किसानहरूमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, गाउपालिका अध्यक्ष सिदार्थ यादवले भ्रष्टाचार गरेकाले छानबिन गर्नुपर्ने लगायतका माग जनमत पार्टीले राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.