|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण‘ले पुष्पकमल दाहाल ‘प्रचण्ड‘ र केपी शर्मा ओली प्रतिक्रियावादका दलाल भएको बताएका छन्।

माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रचण्ड र ओलीलाई उक्त संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि थुप्रै संघर्ष भएको तर शुरुमा क्रान्तिकारी बनेकाहरू नै पछि गएर बिग्रिएको स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) का नेता सी पी  गजुरेलले  महाधिवेशनले पूर्वमाओवादीहरू एकजुट हुने मार्ग तयार गर्न सुझाव दिएकै दिन नेता वैद्यको यो भनाई आएको हो।

महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरूले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भन्दै जनतालाई झुक्याइरहेको बताए। वैद्यले अहिले प्रचण्डले आफूलाई क्रान्तिकारी दाबी गर्ने प्रचण्डले पहिले नै माओवादी छोडिसकेको चर्चा गरे। 

महासचिव वैद्यले भने, ‘किसान आन्दोलनहरू, २०२८ सालदेखि यताको झापाको ऐतिहासिक सशस्त्र विद्रोह, हामी नेकपा माओवादीले चलाएको १० वर्षे जनयुद्ध, राम्रै तरिकाले अघि बढेका हुन्। तर भयो के भने शुरुमा क्रान्तिकारीहरू भएका पछि गएर बिग्रिए।‘

उनले यस्ता घटनाको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए।

उनले भने‚ ‘आज नेपालमा सच्चा कम्युनिष्ट को हो त? दक्षिणपन्थीहरूको एउटा व्याख्या छ‚ हाम्रो अर्को व्याख्या छ। ओलीहरूलाई सबैले साँच्चैको दक्षिणपन्थी भन्छन् तर उनीहरू आफूलाई खाँटी मार्क्सवादी भन्छन्।‘

ओलीका नेताहरूले नै अहिलेको मूल समस्या भनेको दक्षिणपन्थी अवसरवाद भन्दै हिँड्ने गरेको चर्चा गरे।

अर्कोतिर यसकै उत्कृष्ट उदाहरण प्रचण्डहरू भएको बताए।

महासचिव वैद्यले भने‚ ‘उनीहरू विचारमा क्रान्तिकारी, पार्टी अब नयाँ निर्माण गर्ने भनेर फलाक्न थालिसके। जस्तो अवसरवादी भए पनि मार्क्स​वाद, लेनिनवाद, माओवादको नाम त जप्नै पर्दो रहेछ। प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन्।’

प्रचण्डले आफूलाई प्रतिगमनका विरुद्ध लड्ने भनेर दाबी गर्नु झूटो भएको पनि उनको स्पष्टोक्ति थियो।

उनीहरूले आफूलाई संविधानको रक्षा गर्ने भन्दै कुर्लिने गरेको पनि बताए। वैद्यले भने‚ ‘प्रतिगमनका विरुद्ध जाने हामी हौँ भनेर कुर्लेका छन्। ओलीहरू, प्रचण्डहरू दक्षिणपन्थी मात्रै होइनन्, प्रतिक्रियावादका दलाल हुन्।’

महासचिव वैद्यले मार्क्स​वाद लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसको भावना अनुसारको राजनीतिक कार्यदिशा बनाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.