|

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण सकिएको छ।

छैटौँपटक म्याद थपिएको आयोजनाको काम शनिबार सकिएको आयोजना प्रमुख जर्नाधन गौतमले जानकारी दिए।

लामो समयदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ पत्ताले र उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो।

पत्तालेका स्थानीयले प्रशारण लाइन क्षेत्रको मुआब्जा माग्दै अवरोध गरेका थिए भने मरुवाका स्थानीयवासीले प्रसारण लाइनको मार्ग सार्न माग गर्दै २ वर्षदेखि अवरोध गरेका थिए।

स्थानीय प्रशासन र जनप्रतिनिधि सहितको समन्वय तथा प्राधिकरणको पहलमा उक्त अवरोध हटेसँगै त्यस क्षेत्रमा टावर राख्ने र तार तानिसकेसँगै अन्य प्राविधिक काम जारी रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

सोलु करिडोर चाँडै सञ्चालनमा ल्याउन पेट्रोलिङ गर्नेदेखि चार्जलगायत काम गर्नुपर्ने भएकाले ती काममा प्राधिकरण जुटेको उनको भनाई छ।

कहिले सञ्चालनमा आउँछ भनेर  दिन तोक्न नसक्ने भएपनि चाँडोभन्दा चाँडो शुरु गर्न तीव्र गतिमा काम भइरहेको भट्टराईले बताए।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लासम्मको ९० किलोमिटर प्रशारण लाइनमा ३ सय २ वटा टावर निर्माण गरिएको आयोजनाले जनाएको छ।

एक महिनाभित्रमा चार्ज गरी उक्त प्रशारण लाइन सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।

सोलुखुम्बुको तिङ्लामा १३२/३३ र ३३/११ केभी सबस्टेसन निर्माण भएर चार्ज भइसकेको छ।

तर करिडोरको काम समयमा नै नसकिँदा सोलुखोलामा उत्पादित विद्युत खेर गएको र आयोजनाको कामसमेत प्रभावित भएको जलविद्युत कम्पनीले गुनासो गर्दै आएको थियो।

सोलु करिडोर निर्माण सकिएसँगै अब यहाँ उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने र खपत हुनेछ।

प्रशारण लाइन नहुँदा जिल्लावासीले विद्युत उपभोग गर्न नपाएको बताउने सल्लेरी च्याल्सा विद्युत कम्पनीले समेत अब सेवा नियमित र गुणस्तरीय हुने विश्वास व्यक्त गरेको छ।

प्राधिकरणले प्रशारण लाइन बन्ने भएपछि सोलुखोला र दूधकोशीमा निर्माणाधीन १२ जलविद्युत् आयोजनासँग ३ सय २५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ।

करिब एक वर्षयता सञ्चालनमा आएको २३ दशमलव ५ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनालाई अस्थायी रुपमा तिङ्लास्थित ३३ केभी प्रशारण लाइनमा जोडिएको थियो।

त्यहाँ करिब ५ मेगावाट विद्युत मात्र खपत हुँदा घाटा बेहोर्नुपरेको बताउने विद्युत आयोजनाले अब भने पूरै विद्युत खपत हुनेमा ढुक्क भएको छ।

अर्थतन्त्रमा टेवा पुग्ने विश्वास

सोलु करिडोर प्रशारण लाइन निर्माणमा देखिएको समस्या र अवरोध हटाउन विद्युत प्राधिकरण, आयोजना र स्थानीयसँग जनप्रतिनिधिको तर्फबाट गरेको पहल र प्रयासअनुसार प्रतिफल मिलेको सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले बताए।

अब जिल्लावासी अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाई छ।

आफ्नो कार्यकालमा उज्यालो सोलुखुम्बु बनाउने अभियान रहेकोमा त्योसमेत पूरा हुने चरणमा रहेको उनको विश्वास छ।

जिल्लावासीले खेप्नुपरेको विद्युत समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले विकास निर्माणमा सबैको सहयोग र भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही लामो समय अवरुद्ध रहेको आयोजना पूरा हुनुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिन्छन्।

प्रशासनका तर्फबाट अवरोध हटाउन स्थानीयसँगको बारम्बारको छलफल गरि उनीहरुको चित्त बुझ्ने गरि क्षतिपूर्ति उपलब्ध गराएर आयोजना पूरा गर्न खेलेको भूमिका सफल भएको भन्दै प्रजिअ शाहीले यस आयोजनाले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.