|

पर्सा : मध्य तराईको पर्सा, बारा र रौतहटमा दिनभर पानी र चिसोले जनजीवन प्रभावित भएको छ। बुधबार झिसमिसेदेखि सुरु भएको सिमसिमे पानी र चिसो हावाको असरले मध्य तराईका तीनवटै जिल्लाको जनजीवन प्रभावित भएको हो।

बिहान सुरु भएको सिमसिमे पानी एक्कासी दर्के पानीमा परिणत हुने र तुरुन्त रोकिने क्रम साँझसम्म चलिरहेको छ। बुधबार दिनभर घाम नदेखिएको मध्य तराईमा विगतमा पुस ३–४ गतेबाट शीतलहर सुरु हुन्थ्यो।

यो वर्ष भने अझै सुरु भएको थिएन। गएको पुस ६ र ७ गते बिहान डेढ दुई घण्टा देखा परेको हुस्सु घामको किरणसँगै हटेर जाँदा यो वर्ष मध्य तराईमा चिसो पनि खासै थिएन। तर मंगलबारसम्म दिउँसो घाम लागेको यो क्षेत्रमा बुधबारबाट भने जनजीवन प्रभावित भएको छ।

एकै दिनमा विद्यार्थी संख्या पातलियो

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पर्सा, बारा र रौतहट तीनवटै जिल्लालाई पनि गाँजेको छ।

बिहानैदेखिको पानी र चिसोले घर गृहस्थीमा समेत अप्ठ्यारो पारेको वीरगन्जको माईस्थानका सुदेश लाखेले बताए। ‘एकै दिनको पानी र चिसोले जनजीवन कष्टकर बनायो’, उनले भने। तीन दिनसम्म मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना औँल्याएको मौसम पूर्वानुमान महाशाखाको आँकलन यो पटक भने यता पनि मिलेको लाखेले तर्क गरे।

पहिलो दिन भएकाले काममा जान पर्ने सर्वसाधारण भने पानीमा भिज्दै आफ्नो गन्तव्य जाने आउने क्रम चलेको छ।

विद्यालयमा विद्यार्थीहरूको संख्या पनि एकै दिनमा पातलिएको निजी विद्यालय सञ्चालकहरूले बताए। यस्तै अवस्था केही दिन रहे विद्यार्थीको संख्या स्वाट्टै घट्ने गोल्डेन फ्यूचरका सञ्चालक उमेश चौरसियाले बताए।​

आर्थिक नगरीमा चहलपहलमा कमी

प्रदेश २ को आर्थिक नगरी वीरगन्ज पनि बदलिदो मौसमको कारण अरू दिनको तुलनामा खासै चलायमान हुन नसकेको वीरगन्जको आदर्शनगरका व्यापारी जयप्रकाश खेतानले बताए।

‘ठूलो पानी परेर वर्षातमा झैं बजार क्षेत्र डुबान नै नभए पनि जनजीवन दिनभर प्रभावित भयो’, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका वीरगन्जका अध्यक्ष समेत रहेका व्यापारी खेतानले भने।

वीरगन्ज महानगरको मुटु घण्टाघर–माईस्थान क्षेत्रमा भने नालीको फोहोर पानी रोडसम्म आई त्यो क्षेत्रको जनजीवन भने निकै कष्टपूर्ण भएको उनको तर्क छ।

यता पर्साको अन्य ग्रामीण क्षेत्रमा भने पानीकै कारण खासै असर नभए पनि पानीसँगै बढेको चिसोले सताउन थालेको ग्रामीण क्षेत्रका शम्भु यादवले बताए।

बारा र रौतहटमा पनि मौसम बदलीले सर्वसाधारणमा असर गर्न थालेको बाराको कलैयाका ओमप्रकाश गुप्ताले बताए। 

सुरक्षित रहन चिकित्सकहरुको सुझाव

हिउँदे सिजनमा हुने मौसम बदली र चिसोबाट सर्वसाधारण तथा वृद्धवृद्धालाई बढी बचाउनुपर्ने यहाँका चिकित्सकहरूले बताए।

यो सिजनमा रुघाखोकी, निमोनिया र घाँटीको समस्या बढी हुने गर्छ। श्वासप्रश्वासका बिरामीलाई पनि बढी ख्याल गर्नुपर्ने वीरगन्जको नारायणी अस्पतालका फिजिसियन डाक्टर उदयनारायण सिंहले भने।

चिसो सिजनमा तातो झोलिलो कुरा बढी खाने, गेडागुडी र त्यसको रस, माछा, मासु जस्तो शरीरलाई चाहिने आवश्यक खाने कुरामा ध्यान दिने र सकेसम्म घर बाहिर ननिस्कने, न्यानो कपडा लगाउने, हुनेखानेले हिटर ताप्ता भेन्टिलेशन खुला राख्ने जस्ता काम गर्नुपर्ने उनको सुझाव छ।

घाँटीमा समस्या बढ्न थाले, खोकी र ज्वरोले दुई दिनसम्म पनि नछोडे तुरुन्तै चिकित्सकसँग भेटेर परामर्श लिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.