|

नयाँ दिल्ली : दिल्लीमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि धमाधम बिहे रद्द हुन थालेका छन्।

दिल्ली सरकारले विवाहमा २० जना मात्र सहभागी हुन पाउने अनुमति दिएको छ। यो आदेशसँगै मानिसहरूले धमाधम बुकिङ रद्द गर्न थालेका छन्। यसले वैवाहिक काममा जोडिएका उद्योग र मजदुर प्रभावित भएका छन्।

जिया बैंडका मालिक अनिल थडानीले भने‚ ‘मान्छेले विवाह रद्द गर्न थालेका छन् र पैसा फिर्ता माग्न थालेका छन्। धेरै मानिसले माघ ६ गतेदेखि बिहेको योजना बनाएका थिए। दिल्लीले प्रतिबन्ध लगाएपछि समस्या भयो। हामीले पैसा कसरी फिर्ता गर्ने ?’

उनले बिहीबार बिहे हुने भएकाले सबै तयारी भइसके पनि परिवारले कार्यक्रम रद्द गरेको र यसले चिन्तित बनाएको बताए।

करोलबाग निवासी अमित केडियाका आफन्तको माघ ६ गते हुने विवाहका लागि सबै तयारी गरिएको थियो। बुकिङ रद्द गरिसके पनि पैसा फिर्ता पाउन समस्या भइरहेको उनले बताए।

विवाह पाँचतारे होटलमा हुने तयारी भएकोमा अहिले परिवार अन्योलमा भएको दुःख मनाउ गरे।

केडियाले भने, ‘आम जनता कहाँ जाने? बिक्रेताहरूले सबै व्यवस्था मिलाइसकेको बताउँछन् र कतिपयले अन्तिम समय गरिएको परिवर्तनमा आफू जिम्मेवार नभएको बताउँछन्।’

उनले २० जनामध्ये दुलहा र दुलहीका आफन्तलाई पनि बोलाउन नसक्ने बताए। बिहे जस्तो कार्यक्रममा आफन्त नबोलाउन पनि सकस भएको उनको कथन छ।

राशि इन्टरटेनमेन्टका राजीव जैनले महामारीको कोरोना शुरुवातदेखि उद्योगले धेरै पीडा भोगेको र सरकारले कुनै सहयोग नगरेको अवस्थामा अहिलेको नियमले संकटापन्न बनाएको भन्दै गुनासो गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.