|

काठमाडौं : नेपाली नाटक 'क्लेशा' भारत रंग महोत्सवमा छनोट भएको छ।

प्रतीक्षा कट्टेलको लेखन तथा विजया कार्कीको निर्देशन रहेको नाटक नेशनल स्कुल अफ ड्रामा (एनएसडी)ले आयोजना गर्ने प्रतिष्ठित महोत्सवमा छनोट भएको हो। 

दुई वर्षअघि मञ्चन भएको 'क्लेशा' निर्देशकको रुपमा विजयाको पहिलो नाटक भने यही नाटकबाट अभिनेत्री सुरक्षा पन्तले नाटकमा डेब्यु गरेकी थिइन्।

त्यस्तै लेखक प्रतीक्षा कट्टेलको पनि यो पहिलो नाटक हो। 

महिला लेखक र निर्देशकको पहिलो नाटक नै भारत रंग महोत्सवमा छनोट हुन सफल भएको हो।

नाटकमा सुरक्षाबाहेक कुशल पाण्डे, रुजु शर्मा, प्रतीक मरहठ्ठा, सिर्जना अधिकारी, सविना थापा, राज खड्का, स्वप्निल घिमिरे, सुदीप खतिवडा, तुफान थापा, अमृत काउचा, जीवनाथ पौडेल र सविन भट्टराईको अभिनय रहेको थियो।

महोत्सवमा छानिएका जम्मा १० अन्तरराष्ट्रिय नाटकमा 'क्लेशा' बाहेक बंगलादेशबाट ६ वटा तथा इटाली, पोल्यान्ड र श्रीलंकाबाट एक-एक वटा नाटक रहेका छन्।

४० नाटकबाट १० वटा नाटक छनोट गर्दा 'क्लेशा' परेको हो।

फेब्रुअरीदेखि सुरु हुने महोत्सवमा दश वटा अन्तरराष्ट्रिय नाटकबाहेक भारतकै विभिन्न नाट्य समूहले तयार पारेका ७७ नाटक मञ्चन हुनेछन्। 

२२ औँ भारत रंग महोत्सव फेब्रुअरी १-२२ सम्म भारतका विभिन्न सहरमा आयोजना हुँदैछ।

'क्लेशा' फेब्रुअरी ७ मा दिल्ली र फेब्रुअरी ९ मा 'ओडिसा' मा मञ्चन हुनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.