‘साँढेलाई सिइओ बनाएर संस्था चल्दैन’​

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू सहभागी कार्यक्रममा खर्च भएको ८० लाख रुपैयाँको छानबिन गर्न माग गरेका छन्।

आलेले बेलायतमा आयोजित विश्व पर्यटन मेलाको कार्यक्रममा जाँदा खानेकुरा समेत आफूले किनेको बताउँदै तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरे

शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले उक्त माग गरेका हुन्।

आफूले यसबारे बोर्डका कार्यकारी अधिकृत (सिइओ) लाई कति खर्च भयो भनेर सोधेको समेत खुलासा गरे।

मन्त्री आलेले भने, ‘खानासमेत मैले आफ्नो पकेटबाट निकालेर खाएको छु।’ यस्तो अवस्थामा ८० लाख रुपैयाँको बिल देखाउनु ठगी भएको स्पष्ट पारे।

उनले भने, ‘म, सचिवज्यू लगायत दूतावासमा बसेका छौँ। होटलमा एक रुपैयाँ खर्च भएको छैन। खानामा एक रुपैयाँ खर्च भएको छैन। ८० लाख केमा खर्च भयो ? कसरी त्यत्रो बिल आयो?’

आफ्नो हवाइ टिकट समेत पर्यटन मन्त्रालयबाट काटिएको पनि उनले जानकारी दिए।

मन्त्री आलेले भने, ‘म विश्व पर्यटन मेलाको कार्यक्रममा जाँदा सबैभन्दा सानो स्टल हाम्रोतिर। दुई चारवटा कुखुरा अटाउने खालको। झन् गैँडा भएपछि अट्न पनि गाह्रो। फोटो सेसन गरौँ भनेर गरेका थियौँ। अट्न पनि गाह्रो छ।’

साँढेलाई सिइओ बनाएर संस्था चल्दैन’​

मन्त्री आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने स्पष्ट पारेका छन्।

उनले हाल छानबिनका क्रममा रहेका पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे।

उनले सिइओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए।

उनले भने, ‘चारवटा गाडी बेचेर प्रेम आलेको इमान म खरिद गर्छु भनेर त्यसले सोच्यो होला। त्यो सपनामा पनि नसोचे हुन्छ। इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन।’

मन्त्री आलेले सिइओ रेग्मीकै कारण विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त मानिसलाई संस्थाको सिइओ बनाउँदा संस्था चल्न नसक्ने बताए।

मन्त्री आलेले भने, ‘साँढेहरूलाई ल्याएर सिइओमा राजनीतिक नियुक्ति दिइन्छ। अब त्यो साँढे कस्तो हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ। मन्त्रीसँग क्लाइमेक्स मिल्दैन। क्लाइमेक्स मिल्न त मैले जाँड खानुपर्छ।’

बेलायतमा देशको अवस्था बताउँदै सहयोग गर्न आह्वान गर्दै त्यो फोरममा बोल्ने इच्छा भए पनि त्यहाँ बोल्न नदिएको भन्दै मन्त्रीले आक्रोश व्यक्त गरे।

‘त्यो साँढेले बोल्ने कार्यक्रम केही छैन मन्त्रीज्यू भन्यो। एउटा देशको मन्त्री। यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो’, उनले भने। उन्मत्त ‘साँढे’लाई सिइओ बनाएर संस्था डुबाउने काम भइरहेको उनले दाबी गरे।

लण्डन जाँदा टिकट कति त्यो आफूले नहेरेको उनले स्पष्ट पारे। त्यो त व्यवस्थापनले गर्ने कुरा भएकाले आफूलाई थाहा नहुने पनि उनले बताए। त्यसमा मुछेर आफ्नो बेइज्जत गर्ने काम भएको भन्दै उनले आक्रोश व्यक्त गरे।

मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गतका संघसंस्थामा विकृतिको चाङ भएकाले सम्हाल्नै गाह्रो भइरहेको बताए। उनले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकाले भ्रष्टाचार हुन नदिने बताए।

मन्त्री आलेले संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीलाई निर्देशनसमेत दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.