|
तस्वीर : पार्थ मण्डल

झापा : मेची नदीको तटीय क्षेत्र तटबन्ध गर्न खोज्दा भारतीय एसएसबीले अवरोध सिर्जना गरेको छ।

भारतीय एसएसबीले नेपाली भूमिमै आएर अवरोध गर्दा तटबन्ध निर्माण एक दिन रोकिएको थियो।

गत साउन २५ गते मेचीमा आएको बाढीले कचनकवल गाउँपालिका–५ पाठामारीस्थित ११२ नम्बर सीमा पिलर बगाउनुका साथै तटीय क्षेत्र कटान गर्दा नदी किनारको बस्ती उच्च जोखिममा परेको छ।

पाठामारी बस्तीसँगै नेपाली भूभाग जोगाउन कचनकवल गाउँपालिकाले ८ लाख रूपैयाँ विनियोजन गरी ढुङ्गा र तार जालीको तटबन्ध बनाउन लागेको गाउँपालिकाका इन्जिनियर अमित ढुङ्गानाले जानकारी दिए। 

सो निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिएको र २ ठाउँमा १२/१२ मिटर तटबन्ध निर्माण हुने उनले बताए। 

गाउँपालिकाले ११२ नम्बर सीमास्तम्भदेखि उत्तरतर्फ ५० मिटर छाडेर तटबन्ध निर्माण सुरु गरेको थियो।

निर्माण कार्य सुरु गरेलगत्तै भारतीय एसएसबीको १९ बटालियन टोली आएर शुक्रबार काम रोक्न लगाएको थियो।

एसएसबीले तटबन्ध निर्माणमा अवरोध सिर्जना गरेपछि उपभोक्ता समितिले तत्काल गाउँपालिकासहित स्थानीय प्रहरीलाई जानकारी गराएको थियो।

त्यसको भोलिपल्ट शनिबार बिहान एसएसबी १९ बटालियनका इन्स्पेक्टर सोरियासहितको टोली निर्माणस्थल आइपुगेको थियो।

यताबाट गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, वडाध्यक्ष महेशलाल गणेश, इन्जिनियर अमित ढुङ्गाना, सशस्त्र प्रहरी बिओपी पाठामारीका सई रुद्र श्रेष्ठ, पाठामारी चौकीका असई भरत कोइराला लगायतको टोली पुग्यो।

दुवै टोलीबीच त्यस विषयमा छलफल भएको थियो। त्यसपछि एसएसबीले जिपिएस ट्र्याकिङ गरी बगाएको ११२ नम्बर पिलरको स्थान पहिचान गर्‍यो।

सीमा पिलरदेखि ३० मिटर छाड्नुपर्ने नेपाल–भारतबीचको सम्झौतामा उल्लेख छ।

जिपिएसले ५० मिटर छाडेको देखाएपछि एसएसबीले तटबन्धको काम गर्नु भन्दै फर्किएको थियो।

एसएसबीले बिनाकारण दुःख दिँदा निर्माण अवरुद्ध बन्न पुगेको गाउँपालिका अध्यक्ष आलमले बताए।

‘गाउँपालिकाको इन्जिनियरले नापजोख गरेर नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गर्न लगाएको हो,’ उनले भने, ‘एसएसबीले कसैसँग नबुझेर बारम्बार नेपालमा आएर दुःख दिँदा विकास निर्माण अवरुद्ध हुँदै आएको छ, यो काम एकदम गलत भएको हो।’

११२ नम्बर पिलर बगाउँदा झन् समस्या उत्पन्न भएको उनले बताए।

उनले भने, ‘तत्काल सरकारले भारतसँग समन्वय गरी बगाएको पिलर बनाउनु पर्छ, यो पिलर समयमा बनाइएन भने एसएसबीले दुःख दिइरहन्छ।’

सीमा पिलरनजिकै नेपाल र भारत दुवै देशका बासिन्दा बस्छन्। कटानका कारण सो क्षेत्रका घरहरू उच्च जोखिममा छन्।

पिलरसँगै त्यस क्षेत्रमा पनि तटबन्ध बनाउनु आवश्यक रहेको स्थानीय ओम यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.