|

विराटनगर : राष्ट्रियसभामा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने तीन सदस्यको पदावधि सकिएकाले आगामी माघ १२ मा निर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभामा निर्वाचित नैनकला ओझा, अगम बान्तवा र परशुराम मेघी गुरुङको कार्यकाल फागुन २० मा सकिँदै छ।

रिक्त रहेको महिला, खुला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रमा निर्वाचन हुन लागेको हो। देशभर १९ सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) उत्रिएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख‚ उपप्रमुख, अध्यक्ष‚ उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदान गर्नेछन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन्।

यस्तो छ मतको अंकगणित

प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन्। जसमध्ये एकजना पदमुक्त भएका छन्। १३७ स्थानीय तहका २७४ प्रमुख र उपप्रमुखमध्ये दुई जनाको निधन भएका कारण २७२ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ।

९२ प्रदेशसभा सदस्यको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तह प्रमुख तथा उपप्रमुखको मतभार ४ हजार ८९६ हुनेछ। ९ हजार ३१२ मतमध्ये सत्ता गठबन्धनसँग ४ हजार ६८६ मतभार छ। ४१ प्रदेश सांसद र १४२ प्रमुख तथा उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५४२ छ।

९६ प्रमुख तथा उपप्रमुख र २१ सांसद रहेको कांग्रेसको मतभार २ हजार ७३६ छ। १५ सांसद र १६ प्रमुख तथा उपप्रमुख रहेको माओवादीको मतभार १ हजार ८ छ।

१० सांसद र १० प्रमुख तथा उपप्रमुख रहेको एकीकृत समाजवादीको मतभार ६७८ छ। ३ सांसद र चार प्रमुख तथा उपप्रमुख रहेको जसपाको मतभार २१६ छ।

एक सांसद र चार प्रमुख तथा उपप्रमुख रहेको राप्रपाको मतभार १२० छ। एक सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ। लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितको पाँच दलीय सत्ता गठबन्धनको मतभार एमालेको भन्दा बढी छ। एमालेको एक सांसद फौजदारी अभियोगमा फरार रहेका कारण मतदानमा सहभागी हुने सम्भावना कम रहेको छ। राप्रपा भने कुनै समूहमा खुलेको छैन।

को को छन् उम्मेदवार?

निर्वाचनका लागि एमालेले खुलातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोलुखम्बुका सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ।

गठबन्धनबाट खुलातर्फ कांग्रेसका गोपाल बस्नेत (झापा) र महिलामा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर)को नाम टुंगो लागेको छ। अल्पसंख्यक/अपाङ्गतामा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छैन।

एमालेले जित्छ भनेर ढुक्क हुने प्रदेश कुनै छैन : गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभा निर्वाचनमा एमालेले जित्छ भनेर ढुक्क हुने प्रदेश कुनै नरहेको  बताएका छन्। प्रेस चौतरी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रियसभा निर्वाचनमा एमालेले जित्छ भनेर ढुक्क हुने प्रदेश नरहेको बताएका हुन्।

उनले अन्य प्रदेशमा गाह्रो भए पनि प्रदेश १ मा जित्न सक्ने सम्भावना भने रहेको बताए।

यता नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी गठबन्धनको बहुमत रहेकाले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले जित्ने दावी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.