|

इलाम : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनका लागि बहुलाउन जरूरी रहेको बताएका छन्।

इलामको फिक्कलमा जसपाले आयोजना गरेको सभालाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रतिगामी शक्तिहरुले आफूलाई बहुला भन्दै आएको प्रसंग निकाल्दै सकारात्मक परिवर्तनका लागि सचेत नागरिक बहुलाउनै पर्ने जिकिर गरे।

‘परिवर्तनका लागि विद्वानहरु बहुलाउन जरुरी छ‚’ उनले भने‚ ‘परिवर्तका लागि पहिले पनि बहुलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बहुलाएको छु।’

जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ। उनले पिछडिएका र उत्पीडनमा रहेकालाई संविधानले नसमेटेको भन्दै यसलाई पूर्णता दिन संविधान संशोधन गर्नुपर्ने बताए।

‘१० वर्षमा नेपालमा उथलपुथल गराएर जनताबाटै जारी गरेको संविधान गिलासमा भएको आधा मात्र पानी भरिएको जस्तो भएको छ,’ उनले भने, ‘आधा खाली रहेको गिलासलाई भर्न जसपाले आन्दोलन गर्छ।’

डा. भट्टराईले मुलुकको स्थायित्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका छन्। उनले पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुँदा नेपालको राजनीतिक भविष्य नै संकटमा परेको बताए।

‘स्थायित्वको नारा दिएर तत्कालीन नेकपाले दुई तिहाईको सरकार चलायो। पूरा कार्यकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो‚’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने‚ ‘अस्थितरताको अन्त्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ।’

मुलुकलाई समृद्ध बनाउने अवसर पाएका पार्टी र तिनका नेताहरुले केही गर्न नसकेपछि राष्ट्रियताको हौवा फैलाएको भट्टराईको आरोप छ।

‘तपाईंहरुकै क्षेत्रका एक नेताले दुई तिहाईको सरकार चलाउने मौका पाए,’ पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै भट्टराईले भने, ‘देश बनाउन त परै जाओस्, आफ्नै पार्टीलाई सम्हाल्न नसकेर तहसनहस बनाएका उनैले अहिले राष्ट्रियताको चर्को कुरा गरिरहेका छन्।’

आफ्ना बदमासी लुकाउन राष्ट्रियता खतरामा छ भन्दै कराएर जनतालाई भ्रममा पारेको भट्टराईको तर्क छ। उनले नेपालमा संघीयताको गलत अभ्यासले संकट निम्तिँदै गएको आरोप लगाए। 

लिम्बूहरुले लिम्बुवानको मात्र कुरा नगरेर सम्पूर्ण जनजाति र उत्पीडित वर्गहरूका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ। उनले भने‚ ‘लिम्बुवानमा उभिएर मैले बोल्नैपर्छ कि लिम्बूहरुले सम्पूर्ण जनजातिहरुको पक्षमा संघर्ष गर्न जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.