|

दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरले कृषक र कर्मचारी ठग्ने  फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी (फास्ट नेपाल) का दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक यज्ञराज उपाध्याय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।

घलेलाई बर्दिया प्रहरीको सहयोगमा र उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको उनले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका–६ मा कार्यालय खोलेर कम्पनीका कर्मचारी तथा बबई गाउँपालिका, दंगीशरण, शान्तिनगर र तुलसीपुर उपमहानगरका कृषकहरूबाट ९० लाखभन्दा बढी रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही समय पहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा ठगी मुद्दामा जाहेरी दिएका थिए। ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवाविरूद्ध किटानी जाहेरी दिएका थिए।

कम्पनीले १३ सय बढी कृषकहरूबाट सदस्य बनाउने बहानामा प्रति किसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो। त्यस्तै कर्मचारीहरूको बीमा बापतको ९ लाख ५ हजार रुपैयाँ, कम्पनीमा सेयर बनाउने भनेर ५ जनाबाट ३ लाखका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख रकम ठगेको उजुरी प्रहरीमा छ।

त्यस्तै  ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँसमेत ठगी गरेको भन्दै पीडितहरूले जाहेरी दिएका थिए।

पक्राउ परेकाविरूद्ध जिल्ला अदालत दाङबाट म्याद थप भई अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए। त्यस्तै सोही संस्थामा संलग्न सुमन भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले अन्य जिल्लामा पनि यस्तै ठगी गरेको छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.