|

काठमाडौं : लामो समय बन्द रहेर खुलेका फिल्म हलमा यतिवेला चहलपहल बढेको छ।

दर्शकले फरक फरक स्वादका स्वदेशी तथा विदेशी फिल्म रोजेर हेर्न पाइरहेका छन्।

प्रदर्शनरत ४ फिल्ममा नेपाली फिल्म 'कठपुतली'सँगै हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम', तेलुगु फिल्म 'पुष्पाः द राइज' र बलिउड फिल्म 'अतरंगी रे' रहेका छन्। 

झण्डै २ वर्षसम्म सुनसानजस्तै रहेका फिल्म हलमा तीन साताअघि एकसाथ प्रदर्शनमा आएका 'स्पाइडर म्यान' र 'पुष्पा'ले दर्शक फर्काएका हुन्।

त्यसअघि तिहारमा आएको बलिउड फिल्म 'सूर्यवंशी'ले हलमा दर्शक फर्काए पनि 'स्पाइडर म्यान' र 'पुष्पा'को प्रदर्शनपछिको दर्शकको चाप ऐतिहासिक थियो। 

विदेशी फिल्ममा दर्शकको भीड भइराखेका वेला हलमा नेपाली फिल्म भने एउटा पनि थिएन।

'स्पाइडर म्यान' र 'पुष्पा'सँगै पुस २ देखि प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म 'चपली हाइट ३' अन्तिम समयमा आएर पछि हट्नुपर्‍यो।

हलमा नेपाली फिल्मको कमी गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली हरर फिल्म 'कठपुतली'ले पूरा गरेको छ।

सुरुमा मल्टिप्लेक्सबाट २० प्रतिशत शो पाएको 'कठपुतली'ले अहिले लगभग सबै हलमा ३० प्रतिशत शोका साथ प्रदर्शन भइरहेको छ।

हल खुले पनि लामो समय फिल्मको अभाव बेहोरेका हलमा पछिल्लो तीन सातादेखि भने भ्याइ नभ्याइ भएको क्युएफएक्स बक्स अफिस सिभिल मलमा कार्यरत गोमा गुरुङको अनुभव छ।

'स्पाइडर म्यान' र 'पुष्पा' रिलिज भएको साताबाट हलमा दर्शकको चाप पहिलेको जस्तो छ,' उनी भन्छिन्, 'त्यो साता दुई वटा मात्रै फिल्म भए पनि दर्शकको चाप एकदमै धेरै थियो।'

तेस्रो सातामा आइपुग्दा 'स्पाइडर म्यान'मा दर्शकको फ्लो घट्दो छ भने भने सबैभन्दा बढी दर्शक 'पुष्पा' हेर्न आइरहेका छन्।

उनी भन्छिन्, 'शुक्रबारदेखि दर्शक बाँडिएका छन्। कठपुतलीमा पनि दर्शकको संख्या राम्रो छ।'

कामकाजी दिन भएकाले बिहान र दिउँसोको शोमा दर्शकको उपस्थिति औसत भए पनि साँझ सबै फिल्मले हाउसफुल दर्शक पाएको उनी बताउँछिन्। 

त्यस्तै सिटिसी मलमा रहेको सिने डि' सेफमा पनि अवस्था उस्तै छ।

'स्पाइडर म्यान' र 'पुष्पा' रिलिजपछि बढेको चहलपहल अहिले पनि उस्तै रहेकाे बक्स अफिसमा कार्यरत शोभा राना बताउँछिन्।

उनी भन्छिन्, 'स्पाइडर म्यान' र 'कठपुतली'मा दर्शकको संख्या उस्तै उस्तै छ। 'पुष्पा'को बुकिङ अलि बढी छ। नयाँ वर्षले गर्दा शुक्रबार र शनिबार दर्शकको संख्या एकदमै धेरै थियो। पछिल्लो दुई दिनमा भने अलिकति कमी आएको छ।' 

'कठपुतली' हेरेर फर्किएका विशाल भण्डारी आफूलाई फिल्मको नियमित दर्शक मान्छन्। लामो समयपछि राम्रो नेपाली फिल्म हेर्न पाएको उनको अनुभव छ।

उनी भन्छन्, 'कठपुतलीमा केही नयाँ प्रयोग देख्न पाइन्छ भन्ने सुनेर हेर्न आएको थिएँ। फिल्म राम्रो लाग्यो। मैले यति धेरै अपेक्षा गरेको थिइनँ।' 

नेपाली फिल्म हेर्दा टिकटको पैसा खेर गएजस्तो महसुस गर्ने उनी धेरैजसो हलिउड फिल्म हेर्ने गर्छन्। 

'हरर जनरा मलाई मनपर्ने जनरा हो। हाम्रोमा पनि यसमा फिल्म बनिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। यसअघि बनेका फिल्मको रिभ्यु हेरेरै जान मन लागेको थिएन। अहिले समय छुट्याएर एक्लै हेर्न आएको। पैसा वसूल लाग्यो। यत्तिको भए नेपाली फिल्मलाई पनि माया गर्नुपर्छ भनेर मनैदेखि भन्न मन लाग्छ। टिमको प्रयास तारिफयोग्य छ। हलिउड लेभलकै छ त भन्दिनँ तर मलाई टिकटको पैसा खेर गएजस्तो लागेन।' 

त्यस्तै कलेज ड्रेसमै साथीहरूसँग फिल्म हेर्न आएका हरिश क्षेत्रीले भने हलमा 'चपली हाइट ३' नदेखेपछि 'पुष्पा'को टिकट काटे।

उनी भन्छन्, 'चपली हाइटको अगाडिको फिल्म हेरेको थिएँ। यो पनि पुस २ देखि रिलिज हुने भनेको सुनेको। अहिले आएर हेर्दा ३० गते पो रहेछ। अनि पुष्पाको टिकट काट्यौँ।'

दोस्रो पटक स्पाइडर म्यान हेरेर फर्किएकी मनिता थापाले भने अहिलेसम्म हलमा नेपाली फिल्म हेरेकी छैनन्।

अहिले कठपुतलीको चर्चाले गर्दा चाहिँ उनलाई पनि हेरौँ हेरौँ जस्तो लागेको छ। अब समय मिलाएर 'कठपुतली' पनि हेर्ने उनी बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.