|
कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमा तिमल्सिना

हेटौंडा : राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय सत्तारुढ गठबन्धन, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी परेको छ।

राष्ट्रियसभाको बागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ राधेश्याम अधिकारीको पदावधि सकिन लागेको हो। उक्त स्थानमा सत्तारुढ गठबन्धनको  तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र (एकीकृत समाजवादी)बाट गोमा तिमल्सिना उम्मेदवार बनेका छन्। त्यस्तैगरL प्रमुख प्रतिपक्ष एमालेबाट गोपाल शाक्य र नीरकुमारी कुँवर दर्लामी र नेमकिपाबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले उम्मेदवारी दिएका छन्।

यस्तो छ अंकगणित

राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अंकगणितीय हिसाबले बलियो रहेको गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा होमिएको छ। नेमकिपाको उपस्थिति बलियो छैन।

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि १०९ प्रदेशसभा सदस्य र ११९ स्थानीय  तहको प्रमुख‚ उपप्रमुखले मतदाता छन्। प्रदेशमा १०९ प्रदेशसभा सदस्य र ११९ स्थानीय तहको २३७ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३४६ जना मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ। जसअनुसार निर्वाचनमा १०९ प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुखको चार हजार २६६ मतभार छ। प्रदेशमा कुल ३४६ जना मतदाताको नौ हजार ४९८ मतभार गणना हुनेछ।

बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ। गठबन्धनमा आवद्ध दलका स्थानीय तहमा ११८ जना मतदाता छन्। प्रदेशसभामा ५९ जना छन्। स्थानीय तहमा नेपाली कांग्रेसको ६७, माओवादी केन्द्रको ३४ र एकीकृत समाजवादीको १७ मतदाता छन्। त्यस्तैगरी प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको एक जना मतदाता छन्।

स्थानीय तहमा कांग्रेसको ६७ जनप्रतिनिधिको एक हजार २०६ ,माओवादीको ३४ जनप्रतिनिधिको ६१२ र एकीकृत समाजवादीको १७ जनाको ३०६ गरी कुल दुई हजार १२४ मतभार रहेको छ।

प्रदेशसभामा कांग्रेसको एक हजार ५६, माओवादी केन्द्रको एक हजार १०४, नेकपा एकीकृत समाजवादीको ६२४ र जसपाको ४८ गरी कुल दुईहजार ८३२ मतभार छ।

बागमती प्रदेशमा गठबन्धनको स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल १७७ जना मतदाताबाट चार हजार ९५६ मतभार छ।

प्रमुख प्रतिपक्ष दल एमालेको प्रदेशसभामा ४३ र स्थानीय तहमा ११५ गरी १५८ मतदाता छन्। जसमा प्रदेशसभाबाट दुई हजार ६४ र स्थानीय तहबाट दुईहजार ७० मतभार गणना हुनेछ।

यसरी हेर्दा एमालेसँग स्थानीय तह र प्रदेशसभाको कुल मतभार चार हजार १३४ मतभार रहेको छ। उता गठबन्धनसँग चार हजार ९५६ मतभार रहेकाले एमालेसँग जितका लागि आवश्यक मत पुग्दैन। एमालेलाई चुनावी मैदानमा नहोमिएका बागमती प्रदेशमको साना दलले मत दिएको खण्डमा पनि जितका लागि आवश्यक मत पुग्ने सम्भावना छैन।

बागमती प्रदेशका स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा साना दलको नेतृत्व छ। जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई र अर्को दुई तहमा नेमकिपाको नेतृत्व छ। नेमकिपा भने चुनावी मैदानमा होमिएको हुँदा एमालेलाई सघाउने सम्भावना छैन। राप्रपाले मत दिएको खण्डमा पनि एमालेलाई पुग्दैन।

यस्तै‚ प्रदेशसभातर्फ साना दलको सात मतदाता छन्। नेमकिपाको २, राप्रपाको २ र विवेकशील साझा पार्टीको तीन मतदाता छन्। बागमती प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ जना र स्थानीय तहका ४ जना गरी कुल ११ जना मतदाता छन्। राप्रपा र विवेकशीलको स्थानीय तह र प्रदेशभामा कुल २७६ मतभार छ। यी दुई पार्टीले एमालेलाई समर्थन गरेको खण्डमा पनि जित्ने सम्भवना छैन। त्यसैले बागमती प्रदेशमा सत्तारुढ गठबन्धन दलको जित पक्कापक्की जस्तै देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.