|

काठमाडौं : तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी सरकारले दिएको छ।

चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिएको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज (बुधबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धन खारेज गर्ने उल्लेख छ।

विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिएको भेटे प्रचलित कानूनबमोजिम कारबाही गरिने भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

चिकित्सा शिक्षाको एमबिबिएसलगायत शैक्षिक कार्यक्रमका लागि लिने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.