|

इलाम : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चौधौँ महाधिवेशनमा पराजित नेताहरू अक्षम नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए।

उनले महाधिवेशन आन्तरिक लडाइँ भएकाले हार र जितको कुरा नउठ्ने बताए।

बिहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उनले कांग्रेसमा रूपान्तरणको सुरुवात भएको बताए।

कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले पार्टी रूपान्तरण सुरु भएको उनले बताए।

शर्माले अब कांग्रेस रूपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई आश्वासन दिए।

बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउँदै उनले भने, ‘निष्ठा, जिम्मेवारी, विनम्रता र संयमता साथ कार्य गर्दै जानेछौँ। रूपान्तरित कांग्रेस देशसमक्ष राख्नेछौँ।’

महामन्त्री शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्ने तागतको रूपमा बदल्ने बताए।

कार्यक्रममा कांग्रेस इलाम सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउँदै सबैले गुट उपगुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.