|

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूले संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णायक पहल गर्न जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको राजनीतिक समन्वय समितिको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसद्‍को गतिरोध अन्त्यका लागि संवाद गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको हो।

बैठकमा सहभागी सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस्तै प्रमुख प्रतिपक्षी दलको पनि रहेको बताए।

‘संसदको गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस्तै प्रमुख प्रतिपक्षीको पनि हो,’ उनले भने, ‘गतिरोध अन्त्यका लागि निर्णायक पहल गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको छ।’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको बैठक हिजो र आज बालुवाटारमा बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत समन्वय समितिका ११ जना नेताहरू सहभागी थिए। एमालेले लामो समयदेखि संसद्‍ अवरुद्ध गर्दै आएको छ।

आफूहरूले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारबाही गरेको सूचना टाँस नगरेको भन्दै एमालेले संसद्‍ अवरुद्ध गर्दै आएको छ।

संसदको गतिरोध अन्त्य गर्न कांग्रेस नेता पौडेलले केही दिन पहिले बालकोट पुगेर ओलीसँग आग्रह गरेका थिए भने मन्त्री कार्कीले बालकोट पुगेर पटकपटक संसदको गतिरोध अन्त्य गर्न ओलीसँग आग्रह गरिरहेका छन्।

प्रधानमन्त्री देउवाले हिजो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेर पनि संसद्को अवरोध हटाउने विषयमा छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.