पोल र ट्रान्सफर्मर नहुँदा लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा ढिलाइ

|

धनकुटा : चौबिसे गाउँपालिकाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले लिफ्टिङ गर्न विद्युत् प्राधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा पनि ट्रान्सफर्मर र पोल पाएका छैनन्।

चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैयाँ बुझाएको थियो। यस्तै‚ चौबिसे–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ बुझाएको थियो। गत जेठमा रकम बुझाएपनि अहिलेसम्म काम नभएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष भूमिराज देवानले बताए। उनले नेपाल विद्युत् प्राधिकरण धनकुटाका कुरा गर्दा जहिले पनि एक साता भन्दै टार्ने गरेको देवानले गुनासो गरे।

बोधे र मौनाबुधुकमा खानेपानीको हाहाकार भएपछि चार वर्षअघि दुवै खानेपानी आयोजनाको काम सुरू भएको थियो। हाल उक्त आयोजनाको काम प्रदेश सरकारअन्तर्गत खानेपानी डिभिजन कार्यालय धनकुटाले हेर्दै आएको छ। खानेपानी डिभिजन कार्यालयबाट सबै काम सम्पन्न भएको र विद्युत् प्राधिकरणमा रकम बुझाएको आठ महिना हुँदा समेत उपकरण नपाएपछि पीडामाथि पीडा भएको मौनाबुधुक लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष नरहाङ लिम्बुले बताए। उनले मौनाबुधुक खानेपानी आयोजना सञ्चालन भएपछि करिब ५०० घरधुरी लाभान्वित हुने जानकारी दिए।

विद्युत् प्राधिकरणले लापरवाही गरेर काम नगर्दा काकाकुल अवस्थामा रहेका स्थानीयलाई पीडा थपिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष देवानले बताए। उनले बोधे खानेपानी योजना सञ्चालन हुँदा करिब ६०० घरधुरी लाभान्वित हुने जानकारी दिए। ‘विद्युत् प्राधिकरण जिल्ला शाखा धनकुटाको खातामा गएको जेठ महिनामा लाइन बिस्तारका लागि आवश्यक रकम बुझाइएको छ‚’ देवानले भने‚ ‘विद्युत् प्राधिकरणले काम अगाडि नबढाउँदा लिफ्टिङ खानेपानी योजनाको सम्पूर्ण कार्यहरुमा अवरोध आई योजना सञ्चालन स्थगित हुन गएको छ।’

काम यथाशीघ्र सञ्चालन गर्न भन्दै ज्ञापनपत्र समेत बुझाए पनि प्राधिकरणले वास्ता नगरेको देवानको गुनासो छ। देवानले प्राधिकरणले बोधे र मौनाबुधुकका लागि आएको पोल हिले पठाएको गुनासो गरे।

यता विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोखरेलले रकम जम्मा भएको आठ महिना भए पनि प्राधिकरणमा अहिलेसम्म पोल र ट्रान्सफर्मर नआएकाले काम नभएको बताए। उनले पोल र ट्रान्सफर्मर धनकुटामा मात्रै नभई कतै पनि नभएको बताउँदै धनकुटामा खानेपानी, सडक, टेलिकमको धेरै वटा काम बाँकी रहेको बताए। पैसा जम्मा भएको तर पोल र ट्रान्सफर्मर अभावको कारण काम नभएको निकै वटा काम भएको पोख्रलले बताए।

‘५०–६० वटा आएको पोल हिलेमा सडक मर्मतमा समस्या आयो भनेर पठाएको हो’, पोखरेलले भने, ‘अब आउँदै छ‚ त्यसले बुधुक र बोधेको खानेपानी कै लागि पठाउने हो।’ चौबिसेमा भन्ने खानेपानीको समस्या छ भन्ने जानकारी भएपनि सामानै नभएर काम गर्न नसकेको पोखरेलले बताए। उनले पुसमा भित्रमा काम गर्न पहल गरिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.