|

काठमाडौं : कोभिड-१९ संक्रमणको उच्च जोखिममा बालबालिकाहरू रहेको विज्ञहरूले बताएका छन्। कान्ति बाल अस्पतालका बाल विशेषज्ञ डा. रामहरि चापागाईँ कोरोनाले आफ्नो स्वरुप पटकपटक परिवर्तन गरी फैलिइरहँदा बालबालिकाहरू उच्च जोखिममा रहेको बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो चार दिनमा संक्रमित बालबालिकाको संख्या लगातार बढेको छ। पुस २१ गते १० वर्षमुनिका सातजनामा कोरोना संक्रमण देखिएको थियो। २२ गते ११ जना, २३ गते १३ जनामा र २४ गते २५ जनामा संक्रमण देखिएको थियो। पछिल्लो दुई दिनको अवधिमा संक्रमित हुने बालबालिका दोब्बरले बढेको छ। कोरोनाविरुद्धको खोप नपाएका बालबालिकाहरूमा संक्रमण बढ्दै जानुले पनि उनीहरु उच्च जोखिममा रहेको देखाउँछ।

‘जुन सुकै भेरियन्ट होस्‚ अबका दिनमा बालबालिकाहरू बढी संक्रमित हुन्छन्,’ डा. चापागाईँले भने‚ ‘बालबालिकाहरूलाई बढी संक्रमण पर्ने सिधा दुई कारण छन्। एउटा बच्चालाई कोरोनाविरुद्धको खोप लगाएको छैन, अर्को खोप लगाइसकेका मान्छे बढी कन्फिडेन्ट हुन्छन्, उसले अरुलाई भाइरस सार्ने सम्भावना बढी हुन्छ।’

खोप लगाएका व्यक्तिहरूले आफू सुरक्षित भएको अनुभूति गर्दै खोप नपाएका व्यक्तिबारे ख्याल नगर्दा भाइरस सर्ने माध्यम खोप लगाएका व्यक्ति नै हुने डा. चापागाईँको बताउँछन्।

अभिभावकबाटै सर्ने सम्भावना बढी

बालबालिकामा कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम अभिभावकबाट हुने डा. चापागाईँ बताउँछन्। त्यसैले बालबालिकालाई संक्रमणबाट जोगाउन अभिभावक नै सचेत र सतर्क रहनुपर्ने उनको सुझाव छ।

‘जुनसुकै लहर वा भेरियन्ट भए पनि बच्चाहरूमा विशेषगरी अभिभावकबाटै भाइरस सर्ने भएकाले ख्याल गर्नुपर्छ,’ डा. चापागाईँले भने‚ ‘आमा-बाबुले हामीले खोप लगाएकै छौं भन्ने सोच राखेर जनस्वास्थ्यका मापदण्डलाई ख्याल गर्दैनन्, तर अभिभावक सचेत हुनुपर्छ।’

डा. चापागाईँ डेल्टा भेरियन्टजस्तो ओमिक्रोनले गम्भीर समस्या नल्याएको बताउँछन्। ओमिक्रोनले डेल्टा भेरियन्टको जस्तो निमोनिया गराउने नभई विशेषतः घाँटीमा धेरै समस्या देखिने, खोकी लाग्ने देखिएको उनले बताए। तर‚ यसको अर्थ कोरोना भाइरस कमजोर नभएको उनले बताए। त्यसैले सबैले सचेतता अपनाउनुपर्ने डा. चापागाईंको सुझाव छ। 

बालबालिकाका लागि खोप छैन : सहप्रवक्ता अधिकारी

स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले १२ वर्षभन्दा कम उमेरकालाई लगाउने कोरोनाविरुद्धको खोप नभएको बताए। उक्त उमेर समूहका बालबालिकालाई लगाउने खोपबारे अन्य मुलुकमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

‘अहिले १२ वर्षमुनिका बालबालिकाले लगाउने कोरोनाविरुद्धको खोप छैन,’ डा. अधिकारीले भने‚ ‘अन्य मुलुकहरूमा अनुसन्धान भइरहेको छ। त्यहाँ खोप आएपछि हामी ल्याउँछौ।’

सहप्रवक्ता डा. अधिकारीले अहिले १२ देखि १८ वर्ष उमेर समूहकालाई भने खोप अभियान चलिरहेको जानकारी दिए। उनले खोप लगाएकामा कोरोना संक्रमण नहुने भन्ने नरहेको बताए।

‘खोप लगाएकामा संक्रमण हुँदैन भन्ने होइन‚’ उनले भने‚ ‘तर, खोप लगाएकाहरूमा गम्भीर किसिमका जोखिम हुने अवस्था आउँदैन भन्नेमा विश्वस्त हुन सकिन्छ।’

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढी संक्रमण रहेकाले सबै उमेर समूहकालाई उत्तिकै जोखिम रहेको डा. अधिकारीले बताउँछन्। तर‚ शनिबारसम्म नेपालका बालबालिकामा नदेखिएको उनले बताए।

‘ओमिक्रोन भेरियन्ट अलि बढी संक्रामक भएकाले यसले कुनै उमेर समूह भनेको छैन’, डा अधिकारीले भने ‘तथ्यांक हेर्दा सबै उमेर समूह जोखिममा नै छन्।’

डा. अधिकारीले खोप लगाउन तोकिएका उमेर समूहका सवैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लगाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.