|

काठमाडौं : कुञ्ज नाटकघरको आँगनमा रंगकर्मी सुनील पोखरेल घाम तापेर बसिरहेका छन् तर उनी घाम ताप्नका लागि मात्रै बसेका होइनन्। अहिले उनलाई त्यति धेरै फुर्सद कहाँ? 

उनको हातमा शुक्रबारदेखि कुञ्जमै मञ्चन हुने नाटक 'पुतलीको घर' (अ डल्स हाउस)को नमुना ब्रोसर छ अनि एउटा कलम पनि। 

कसैको नाम छुट्यो कि, इकार उकार ह्रस्वको दीर्घ दीर्घको ह्रस्व भयो कि, शनिबार दिउँसो हुने अतिरिक्त शोका बारेमा लेख्न छुट्यो कि? नाटकघरको ठेगाना बुझिने गरी छैन कि यस्तै कुरामा घोरिएका छन्। मिलाउनुपर्ने ठाउँमा रातो कलमले मिलाउँदै पनि छन्। 

त्यो बाहेक सुनीलका अगाडि नाटकको स्क्रिप्ट छ। समय मिलाएर त्यो पनि हेर्नु छ। उनलाई कसैले चिया सोधे पनि हुने जस्तो लागिरहेको छ। फुर्सदमा कोही देखिएका छैनन्। 

कोही नाटकका लागि चाहिने लाइटहरूको व्यवस्था मिलाउँदै छन्, अल्झिएका तार सुल्झाउँदै छन्, कोही रंग लगाउँदै छन् त कोही पुतलीको घर (नाटकको सेट) बनाउन व्यस्त छन्। 

यतिवेला थापागाउँस्थित कुञ्ज नाटकघरमा कुनै पर्व आउन लागेको जस्तो देखिन्छ। हुन पनि आरोहण गुरुकुल फेरि नाटक लिएर आउनुलाई धेरैले पर्वकै रूपमा हेरेका छन्। 

नेपाली नाटक अहिलेको अवस्थामा आइपुग्नुमा आरोहण गुरुकुल र सुनील पोखरेलको योगदान अतुलनीय छ। गौरवमय इतिहास बोकेको आरोहण गुरुकुलले दश वर्षपछि आफ्नो नयाँ यात्रा सुरु गरेको छ। 

अबको एक वर्ष कुञ्ज नाटकघरमा गुरुकुलका पुराना नाटक फेरि मञ्चन हुँदै छन्। यसको सुरुवात यही माघ १ गतेदेखि हुँदै छ। 

गुरुकुलको सबैभन्दा सफल नाटकमध्येको एक 'पुतलीको घर' मञ्चन गर्दै गुरुकुल आफ्नो नयाँ यात्राको थालनी गर्दै छ। 'पुतलीको घर' नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान, डेनमार्क, नर्वे लगायतका देशमा झण्डै २ सय २० पटक मञ्चन भइसकेको छ।

नाटकको अन्तिम तयारी चलिरहँदा सुनील आफू पनि मञ्चमा देखिनुपर्ने भएको छ। नाटकका एकजना कलाकारलाई समस्या परेपछि उनको ठाउँमा सुनील आफै आउने भएका हुन्। 

त्यसका लागि उक्त पात्रले बोल्ने संवाद कण्ठ पनि गर्नु छ। सयौँपटक एउटै पटकथामा काम गरिसकेकाले उनलाई संवाद याद राख्न खासै समस्या छैन। 

'नाटक गराउँदा गराउँदै सबै बसेको छ। अब एकदुई चोटि स्क्रिप्ट हेरेँ भने याद हुन्छ'‚ उनी भन्छन्, 'यो नाटकको धेरै क्यारेक्टर आफैँले गरिसकेको छु। यस्तै यस्तै हुँदा घरीघरी मलाई आफू १२ औँ खेलाडी जस्तो लाग्छ क्या।' 

सुनील नयाँ नाट्ययात्राका लागि उत्साहित त छन् साथै कोरोनाको बढ्दो संक्रमणले गर्दा अलिकति चिन्तित पनि। 

'२५/५० जना राखेर देखाउन सकियो भने पनि खासै समस्या भएन तर संक्रमण एकदमै बढ्यो भने बन्द पनि गर्नुपर्ला।' नाटक मञ्चन गर्ने, देखाउने वातावरण बनेन भने पनि गुरुकुलका अरू काम भने भइराख्ने उनी बताउँछन्। 

गुरुकुल बन्द भएपछि नाटकमा धेरै नयाँ दर्शक थपिएको र उनीहरूले गुरुकुलका नाटक नहेरेकाले पुराना नाटक गर्न लोभ लागेको उनी बताउँछन्। तर पुराना नाटक गर्दा धेरै कलाकारले नभ्याउने समस्या चाहिँ भइरहेको उनी बताउँछन्। 

पहिलेको ऊर्जा सहित काम गर्न खोजिरहेका सुनीलले खासै धेरै अपेक्षा भने गरेका छैनन्। अझ भनाैँ‚ उनले त्यो विषयमा सोचेकै छैनन्। उनी भन्छन्, 'काम गरौँ, नाटक देखाउँ अनि हेरौँ के हुन्छ। साँच्चै भन्ने हो भने अहिले मलाई कुनै आइडिया नै छैन‚ के हुन्छ।' 

गुरुकुलको सुरुवाती दिन सम्झँदै उनी भन्छन्, 'पहिले गुरुकुल सुरु गर्दा पनि सबैको जीवनबाट दुई दुई वर्ष माइनस गरौँ भनेर लागेका थियौँ। के हुन्छ कसैलाई आइडिया थिएन। अहिले ठ्याक्कै त्यस्तै छ।' 

नाटक माघ १ देखि २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ साढे ४ बजे कुञ्ज नाटकघरमा मञ्चन हुनेछ। अतिरिक्त शो शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.