|

काठमाडौं : प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टीम नेपाल एपिएफ र बागमती प्रदेशले विजयी सुरुवात गरेको छन्।

दिनको दोस्रो खेलमा कीर्तिपुरमा एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गर्दा मुलपानीमा भएको खेलमा बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित गर्‍यो।

टस जितेर पहिलो ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमा समेटिन पुगेको थियो।

एपिएफलाई सानदार स्कोरमा पुर्‍याउन ओपनर प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए। प्रदीपले ४८ बलमा ९ चौकाको सहयोगमा ६० रन बनाउँदा आसिफ शेखले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए।

त्यस्तै सन्दीप जोराले १७ रन बनाउँदा कप्तान सरद भेषवाकर १७ रनमा नटआउट रहे। प्रदेश दुईका लागि रितेश सिंहले ४ विकेट लिएका थिए। थप १ विकेट विवेक यादवका नाममा रह्यो।

१६४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई निर्धारित २० ओभरमा १३९ रनमा समेटियो। उसका लागि ओपनर हरिसंकर साहले ३६ रनको योगदान दिँदा मोहम्मद अदिल आलामले ३५ रन बनाए। त्यस्तै सुरज पटेलले १५ रन जोड्दा विवेक यादवले १३ रनको योगदान दिए। कुमार थापा १० रनमा अविजित रहेका थिए।

एपिएफका लागि कमल ऐरी, अविनास बोहरा र भुवन कार्कीले समान २/२ विकेट लिए भने किशोर मेहतो र सरद भेषवाकरको नाममा १/१ विकेट रह्यो।

बागमतीको सहज जित

प्रधानमन्त्रीकप टी–२० क्रिकेट अन्तर्गत नै लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित निकाल्दै बागमतीले पनि प्रितियोगिताम सुखद सुरुवात गर्‍यो। मुलपानी क्रिकेट मैदानमा सोमबार भएको दिनको दोस्रो खेलमा बागमतीले लुम्बिनीसामु १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा लुम्बिनी ६५ रनमै सिमित भएपछि बागमतीले ४९ रनको जित निकाल्यो। पहिलो ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोडेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीका ‌लागि सुवास खकुरेलले ५१ रनको अर्धशतकीय इनिङ खेले।

खकुरेलले ५३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए। त्यस्तै ओपनर इशान पाण्डेले १३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा १९ रन बनाएका थिए।

लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले २/२ विकेट लिँदा सिद्दान्त लोहनी, बसिर अहमेद्द र विक्रम भुषालले समान १/१ विकेट लिए। १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी निकै खराव प्रदर्शनको सिकार भयो।

२६ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनी ६५ रन बनाउँदा आफ्ना सम्पूर्ण विकेट गुमाउन बाध्य भयो। लुम्बिनिका लागि कप्तान कृष्ण कार्कीले १६ तथा बसिर अहमद्दले ११ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

बागमतीका लागि नन्दन यादवले ३ विकेट लिए भने रामनरेश गिरी, सुवास खत्री र तिलक भण्डारीले समान २/२ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.