|

काठमाडौंः कोरोनाका कारण लामो समय बन्द रहेका नेपाली नाटकघर फेरि लयमा फर्कने प्रयासमा छन्। 

गत महिना कौसी थिएटरमा नाटक 'एनिमल फार्म'को सफल मञ्चन भयो। शुक्रबारदेखि आरोहण गुरुकुलको पुनरागमन भएको छ, शुक्रबारदेखि नै पुरानो घर थिएटरमा दोस्रो नाटक 'लाटीको छोरा' मञ्चन सुरु भएको छ भने मण्डला थिएटर आफ्नो नयाँ नाटकघरको उद्घाटनका लागि नाटकको तयारीमा छ। 

यतिबेला राजधानीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै तीन वटा नाटक मञ्चनरत छन्। बत्तीसपुतली स्थित शिल्पी थिएटरमा 'ढकियामे नागरिकता' मञ्चन भइरहेको छ भने सिनामंगल स्थित पुरानो घर थिएटरमा "लाटीको छोरा' र थापागाउँ स्थित कुञ्ज थिएटरमा 'पुतलीको घर' मञ्चन भइरहेको छ। 

सरिता साहको लेखन तथा निर्देशन रहेको नाटक ढकियामे नागरिकतामा नागरिकताविहीन जनताको कथा रहेको छ। माघ १ गते शनिबारदेखि मञ्चन सुरु भएको नाटक माघ १० गतेसम्म चल्नेछ।

साइलेन्ट एक्ट र सरिता फाउन्डेसनको संयुक्त प्रस्तुती रहेको नाटक हरेक साँझ साढे ४ बजे  र शनिबार अतिरिक्त शो दिउसो १ बजे मञ्चन हुनेछ। 

त्यस्तै पुरानो घर थिएटरमा सुलक्षण भारतीद्वारा लिखित तथा निर्देशित नाटक 'लाटीको छोरा' मञ्चनरत छ। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरा'लाई भारतीले नाट्य रुपान्तरण गरेका हुन्। 

पुस ३० शुक्रबारदेखि सुरु भएको नाटक पुरानो घर थिएटरमा मञ्चन भएको दोस्रो नाटक हो। यसअघि भारतीकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटक 'म' मञ्चन भएको थियो। 

चार वर्षअघि मञ्चन भइसकेको नाटकलाई भारतीले पुरानो घरका विद्यार्थीलाई लिएर फेरि मञ्चन गरेका हुन्। नाटक माघ ९ गतेसम्म हरेक साँझ पौने ५ बजे र शनिबार अतिरिक्त शो दिउसो १ मञ्चन हुनेछ। 

शुक्रबार कुञ्ज थिएटरमा औपचारिक रुपमा उद्घाटन भएको आरोहण गुरुकुलले पुनरागमन पछिको पहिलो नाटक 'पुतलीको घर' मञ्चन गरिरहेको छ। 

शनिबारदेखि नियमित मञ्चन सुरु भएको नाटकलाई सुनील पोखरेलले निर्देशन गरेका हुन्। गुरुकुलको सबैभन्दा धेरै मञ्चन भएको नाटक पुतलीको घर हेनरिक इब्सनको 'अ डल्स हाउस'को नेपाली अनुवाद हो। जसको अनुवाद निर्देशक पोखरेलले नै गरेका हुन्। 

नाटक माघ २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ साढे ४ बजे र शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.