|

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको जानकारी दिए।

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको दाहालले बताए। कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या भएको छ।

प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमित हुने कर्मचारीको सङ्ख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङका परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ।

कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीको परीक्षण गरिएको छ। उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको पनि दाहालले बताए।

आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने दाहालले जानकारी दिए। यस्तै विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू सबिता भण्डारी, भीमसेन बञ्जारा, राजेश्वर अधिकारी लगायत २० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.