|
तातोपानी नाका

काठमाडौं : कोरोना महामारीको कारण देखाउँदै चीनले लामो समयदेखि नेपाल भित्रिने नाकामा कडाइ जारी राखेपछि नेपाली व्यापारीहरू मर्कामा परेका छन्। चीनले रसुवाको केरूङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कडाइ गरेपछि समस्या भएको नेपाली व्यापारीहरू बताउँछन्।

चिनियाँ पक्षले एक दिनमा १४/१५ वटा कन्टेनर मात्रै नेपाल प्रवेश गर्न दिँदा अर्डर गरिएको सामान चीनतर्फ नै थन्किएको व्यवसायीहरुको गुनासो छ। कोरोना महामारीअघि केरूङ नाकाबाट दैनिक ८० देखि १०० वटासम्म कन्टेनरमा सामान भित्रिने गरे पनि अहिले त्यो संख्या १४/१५ वटामा झरेको नेपाल उद्योग वाणिज्य संघ, रसुवाका अध्यक्ष सुकसाङ तामाङले बताए।

कोरोना महामारीले भयावह रुप लिएपछि चीनले केही समय नाका बन्द गरेको थियो। महामारी नियन्त्रणमा आएपछि नाका खुलाए पनि पहिलेजस्तो सहज नभएको तामाङको भनाइ छ।

‘पहिले सामान आयात निर्यातका लागि नेपाली कन्टेनर चिनियाँ भूमि केरूङसम्म पुग्थ्यो‚’ अध्यक्ष तामाङले भने‚ ‘कोरोनाको कारण देखाउँदै केरुङ प्रवेशमा चीन सरकारले रोक लगाएपछि अहिले नेपाली कन्टेनरहरु रसुवाको मितेरी पुलबाटै सामान लिएर फर्कन्छन्।’

कन्टेनरको संख्या बढाउन र सहज आपूर्तिका लागि स्थानीय सरकार, प्रशासन र निजी क्षेत्रले पहल गरिरहे पनि सुनुवाइ नभएको अध्यक्ष तामाङले बताए।

तातोपानी नाकाका पनि उस्तै समस्या रहेको व्यापारीहरूको गुनासो छ। २०७२ बैशाख १२ को भूकम्पका कारण बन्द भएको चीनसँगको व्यापारिक नाका तातोपानी ४ वर्षपछि २०७६ जेठ १५ गतेबाट सञ्चालनमा आयो। तर‚ पर्याप्त सामान ल्याउन नपाएको नेपाल उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउँछन्।

‘भूकम्पअघि दैनिक ५०/६० वटा कन्टेनरमा सामान ल्याइन्थ्यो‚’ अध्यक्ष श्रेष्ठले भने‚ ‘अहिले ७ देखि १० वटा कन्टेनरमा मात्रै सामान ल्याउन पाइन्छ।’

दुवै नाकाबाट निर्यात ठप्प

केरूङ र तातोपानीबाट थोरै भए पनि आयात हुँदै आएको छ। तर‚ निर्यात भने ठप्प छ। तातोपानी नाकाबाट २०७२ सालको भूकम्पपछि कुनै पनि वस्तु निर्यात नभएको नेपाल उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष श्रेष्ठले बताए।

रसुवाको केरुङ नाकाबाट पनि निर्यात रोकिएको वाणिज्य संघ रसुवाका अध्यक्ष तामाङले बताए।  ‘नेपालबाट चाउचाउ, फ्रुटी, काजु, चिउरा, फलफूल, तरकारी र जडीबुटीलगायत वस्तु चीनतर्फ निर्यात गरिन्थ्यो’, उनले भने‚ ‘ल्होसारको समयमा नेपालबाट प्रायः सक्खर धेरै बिक्छ त्यो ठाउँमा, अनि तरकारी बढी लान्थ्यो, अहिले त्यो सबै बन्द भएको छ।’

व्यापारी भन्छन्- सरकारले बेवास्ता गर्‍यो

नेपाली व्यापारीले नाकाबाट सहज आयात निर्यात गर्ने सहजीकरणका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

‘नेपाल सरकार र चाइना सरकारले उच्च स्तरीय वार्ता टोली गठन गरेर समस्या समाधान गर्नैपर्छ‚’ अध्यक्ष तामाङले भने‚ ‘सुरक्षा मापदण्ड अपनाएर कसरी हुन्छ नाका सहज सञ्चालन गर्नै पर्छ। त्यसका लागि सरकारले उच्च स्तरीय तहबाट पहल गरिदियोस्।’

नाकाबाट सामान आयातमा समस्या हुँदा व्यापारीहरु त मारमा परेका छन् नै सरकारको राजस्वमा समेत प्रभाव परेको छ। यस्तै‚ सीमित वस्तु मात्र आयात हुँदा उपभोक्ता महँगीमा पर्ने गरेको पनि व्यापारीहरु बताउँछन्।

‘हामीले पहिलेदेखि नै कूटनीतिक पहल गर्न नेपाल सरकार र जिल्ला प्रशासन कार्यलहरुलाई ज्ञापनपत्र बुझाएको छौं। तर‚ माथिल्लो तहबाट दरो हिसावले पहल गरेको छैन‚’ अध्यक्ष श्रेष्ठले भने‚ ‘उता (चीन)बाट सामान आउन धेरै समय लाग्छ। त्यसले मूल्य बढ्छ अनि उपभोक्ताहरु महँगीमा पर्छन्।’

सरकारी अधिकारी भन्छ- नाकामा समस्या छैन

दैनिक १०० वटा कन्टेनरबाट आयात हुने वस्तु अहिले १५ कन्टेनरमा सीमित भएको छ। तर‚ सरकारी अधिकारीहरूले नाकामा अहिले कुनै समस्या नभएको बताउँदै आएका छन्। चीनस्थित नेपाली महावाणिज्य दूतावासमार्फ समय समयमा चिनियाँ पक्षसँग छलफल गरिरहेकाले अहिले नाकामा समस्या नभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

‘चीनस्थित नेपाली महावाणिज्य दूतावासमार्फ समय समयमा चिनियाँ पक्षसँग हामीले छलफल गरिरहेका छौं। अहिले नाकामा समस्या छैन‚’ प्रवक्ता लम्सालले भनिन्‚ ‘प्राविधिक हिसाबले परेको समस्यालाई हामीले भन्ने हो, त्यो भैराखेको छ। कोरोना महामारी र पछिल्लो समय मौसमका कारण नाकामा कन्टेनर प्रवेशमा सामान्य समस्या आएको हुनसक्छ।’

सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएपछि हालसम्म नयाँ राजदूत नियुक्त गरेको छैन। जसले पनि नाकाको समस्या समाधानमा बाधा पुगेको छ। नाकामा सहज रुपमा कन्टेनर आवातजावत गर्न नपाउँदा उपभोक्ता महँगीको मारमा परिरहेको छ। तर, सरकारी अधिकारीहरू भने यसले कुनै समस्या नपरेको जवाफ दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.