|

पाल्पा : तानसेन नगरपालिकाले क्युआर कोडसहितको पारिवारिक लगत परिचयपत्र (फेमिली कार्ड) वितरण गरेको छ।

नगरप्रमुख अशोककुमार शाहीले कार्ड वितरण थालेका हुन्। कार्डमा घर र पारिवारिक अवस्थाको सम्पूर्ण विवरण उल्लेख हुनेछ।

यसरी संकलन गरिएको विवरणबाट वृद्ध, युवा, महिला, अपांग, धनी, गरिब परिवारको पहिचान गर्न सहज हुनेछ।

त्यसैअनुसार कार्यक्रमको योजना तथा बजेट विनियोजन गर्न सहज हुने बताइएको छ।

डिजिटल प्रविधिमा विवरण राखिने छ। घर कस्तो प्रकृतिको छ। परिवारका सदस्यको उमेर समूह, योग्यता, क्षमता, सीप, आम्दानी र आम्दानीका स्रोत विवरणमा उल्लेख हुनेछ।

पेसा व्यवसाय पनि संकलन गरिनेछ। तानसेन नगरपालिकाबाट प्राप्त गरेका सेवाबारे पनि रेकर्ड कायम हुने नगरप्रमुख शाहीले बताए।

घर भाडामा दिए नदिएको पनि रेकर्ड राखिने छ। जसका कारण राजश्व छली हुन पाउने छैन।

यसरी संकलन गरिएको विवरण समय समयमा अपडेट हुनेछ। ‘यो प्रक्रियाबाट एक क्लिकमा परिवार तथा व्यक्तिको विवरण हेर्न सकिने छ।

आमनागरिकलाई सूचनाको हक प्रदान गर्न यो प्रणाली अपनाएका हौं। तर व्यक्तिगत गोपनियताको हनन् हुन नदिन पनि सचेत छौँ’ शाहीले भने।

नगरपालिकाबाट दिइने सम्पूर्ण सेवा जनताको घरघरमा पुर्‍याउन फेमिली कार्डले सहयोग गर्नेछ।

यसले नगर सूचना प्रणाली व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए।

कार्डमा उल्लेख गरिएका विवरणका आधारमा नगरभित्रका योजना निर्माण गरिने छ।

तानसेन नगरपालिकाभित्र करिब ५४ हजार जनसंख्या छ। आगामी ६ महिनाभित्र सबै नागरिकको विवरण संकलन गर्ने कार्यले पूर्णता पाउने उनले बताए।

जिपिएस प्रणाली पनि प्रयोगमा ल्याइएको उनले बताए।

यसबाट सम्बन्धित व्यक्तिको घरको तत्कालिन अवस्थाबारे जानकारी लिइने छ। नगरबाट गाउँगाउँमा भइरहेका योजना निर्माणबारे अध्ययन गर्न सजिलो हुनेछ।

जसले गर्दा योजनाको काम गुणस्तरीय र पारदर्शी हुने शाहीले बताए। यस्तै नगरभित्रको बाढी पहिरोको जोखिम र संभावित विकास हुने क्षेत्रको अध्ययन गरिने छ।

गुनासोका आधारमा सम्बन्धित ठाउँको जिपिएस प्रविधिबाट नै अध्ययन गरेर विकासका कामको योजना तय गरिने छ। स्रोतको पहिचान गर्न यो प्रविधिले सहयोग पुग्ने उनले बताए।

नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई छिटो, छरितो र पारदर्शी बनाउन फेमिली कार्ड व्यवस्थाले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए।

यहाँबाट प्रदान गरिने सेवा सेवाग्राहीको घरसम्म पु¥याउन कार्ड प्रणालीको व्यवस्था गरिएको उनले बताए।

नगरपालिकाका १४ वटै वडामा गणक परिचालन गरेर विवरण संकलन गर्ने काम भइरहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताए।

तानसेनलाई स्मार्ट सिटी बनाउने अवधारणाअन्तर्गत फेमिली कार्डको अवधारणा ल्याइएको उनले बताए।

कार्यालयबाट प्रवाह हुने सेवा सुविधाका बारेमा जानकारी लिने कार्डले सहज बनाउने उनले बताए।

उनकाअनुसार फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आइडी नम्बर समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.