|

काठमाडौं : काठमाडौं महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन भएको छ।

अनुगमन प्रक्रिया सरल, सहज र व्यवस्थित गर्न महानगरले कार्यविधि तयार गर्न लागेको हो।

महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा विभागीय प्रमुखहरूको बैठकले समिति गठन गरेको हो।

नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वको समितिमा शिवराज अधिकारी, बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी सदस्य छन्। 

बैठकमा उपमेयर खड्गीले अनुगमनबाट पूर्वाधार, बजार, आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तन देखिनुपर्ने बताइन्।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा महानगर आफैँले नगरसभा तथा कार्यपालिका बैठकबाट गरेका निर्णय कार्यान्वयनको अवस्था अनुगमनका मुख्य क्षेत्र हुन्।

पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी संघ संस्थाले गर्ने कार्यक्रम, महानगरमा आउने उजुरी, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरले अनुगमन गर्नुपर्ने क्षेत्रमा पर्छन्।

त्यस्तै जनजीवन सहज बनाउन मुद्दा नपरी हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्ति स्थानान्तरण, हस्तान्तरण, संरक्षण र उपयोग, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्था महानगरले गर्नुपर्ने अनुगमनका क्षेत्र हुन्।

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.