|

काठमाडौं : नेपाली संगीत क्षेत्रमा बेग्लै पहिचान बनाएका प्रकाश सपूत गायकसँगै गीतकार, अभिनेता र निर्देशक पनि हुन्।

उनले 'चरर, बरर', 'बोल माया' जस्ता कारुणिक गीत लेखेका छन्, त्यसमा संगीत भरेका छन्, गाएका छन्, अभिनय र निर्देशन पनि गरेका छन्। 

त्यस्तै 'दोहोरी ब्याटल' जस्तो प्रयोगात्मक गीत, 'फुटेका चुरा' जस्तो ऐतिहासिक शृंगारिक कथा रहेको गीत, देशभक्ति भावको 'मेरो पनि होइन र यो देश' जस्तो गीत लेखेका, गाएका, अभिनय र निर्देशन पनि गरेका छन्। 

'गलबन्दी' उनको सबैभन्दा बढी सुनिएको गीत हो। जसलाई युट्युबमा ५ करोड भन्दा बढी पटक हेरिएको छ।

यी बाहेक पनि 'कुरा बुझ्न पर्च', 'बदला बरिलै' उनका चर्चित गीत हुन्। 

गीतबाहेक प्रकाशले नेपाली फिल्म 'परदेशी २' मा अभिनय पनि गरेका छन्। जुन प्रदर्शनमा आउन भने बाँकी छ।

फिल्ममा प्रकाशको अभिनय हेर्न बाँकी भए पनि गीतहरूमा भने उनको गायनसँगै शब्द, संगीत, अभिनय र निर्देशन सबै पक्षको उत्तिकै तारिफ हुने गर्छ। 

एक टेलिभिजन कार्यक्रममा प्रकाशले आफू यति धेरै विधामा सक्रिय हुनुको कारण खुलाएका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम 'ह्वाट द फ्लप'मा सन्दीप क्षेत्रीसँग कुरा गर्दै आफू कसरी सबै विधामा आकर्षित भएँ भन्ने कुरा खुलाएका हुन्।

उनले भनेका छन्, 'हामी कस्तो समाजमा बाँच्यौँ भने नि, सबै कुरा छिटो छिटो देख्यौँ। गाउँमा मोटरबाटो, रेडियो टेलिभिजन केही पनि थिएन। त्यो पनि देख्यौँ। भेट हुने, मादल बजाउने, हल्ला गर्ने त्यतिमै रमाउने समय पनि हामीले देख्यौँ।' 

'रेडियो सुनेर रमाइलो गरेको। रेडियोमा मिठो बोल्नेहरूबाट प्रभावित भएर मिठो बोल्न कोसिस पनि गर्‍यौं। त्यसपछि टेलिभिजन आउन थाल्यो। निखिल उप्रेती बन्छु भनेर बारीका कान्लाबाट हाम फाल्ने, दिलिप रायमाझीले जस्तो कपाल बाँधियो, राजेश दाइले जस्तो कपाल पालेर हे गर्दै पनि हिँडियो।' 

उमेर बढ्दै जाँदा पुस्तक पढ्ने बानी पनि हुँदै गएको र ती सबै कुराको प्रभावले गर्दा आफूमा फरकफरक क्षमता वृद्धि हुँदै गएको उनले जिकिर गरेका छन्। 

उनले भनेका छन्, 'रुची भएर पनि होला धेरथोर प्रतिभा भएर पनि होला, जे देखियो त्यो थोरै थोरै बस्दै गयो होला।'

'त्यतिवेला भूपी शेरचनको कविता नपढेको भए, लक्ष्मीप्रसाद देवकोटाको 'मुना मदन' नपढेको भए अहिले मलाई शब्द लेख्न आउँदैनथ्यो होला,' उनले भनेका छन्, 'त्यतिवेला पञ्चैबाजामा ननाचेको भए, आमाहरूसँग बसेर मादल नबजाएको भए मलाई संगीतको ज्ञान हुन्थेन होला।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.