|

पर्वत : विभागीय टोली एपीएफले पहिलोपटक आहा–रारा गोल्डकपको उपाधि चुमेको छ।

२०६८ सालमा उपविजेतामा चित्त बुझाएर फर्किएको एपीएफ १४ वर्षपछि यो संस्करणमा फाइनल प्रवेश गरेको थियो। सुरुवाती चरणका खेलबाट नै उपयुक्त जोश र कुशल रणनीतिका साथ खेलेको एपीएफले सातौँपटक यो गोल्डकपको ट्रफी उचाल्ने मनाङको सपना घरेलु मैदानमा नै तुहिएको छ।

२० औँ संस्करणसम्म आइपुग्दा मनाङ–मर्स्याङ्दीले १२ पटकसम्म फाइनलको यात्रा तय गर्दा एपीएफ भने १४ वर्षपछि फाइनलमा आइपुगेको थियो।

पोखरा रङ्गशालामा भएको २० औँ संस्करणको खेलमा आहा–राराको सर्वाधिक विजेता मनाङ–मर्स्याङ्दीलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै समूहबाट समान २‚२ गोल भएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो तर अतिरिक्त समयमा पनि कुनै समूहबाट पनि निर्णायक गोल हुन नसकेपछि खेल ट्राई ब्रेकरका लागि पेनाल्टीमा पुगेको हो।

पेनाल्टीमा ५‚५ प्रहारको अवसर दिइएकोमा एपीएफका तर्फबाट नवीन लामा, शनि श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडोमले कुनै गल्तीबिना नै सरासर गोल गर्न सके।

मनाङले पाँच ओटा मौकामध्ये चारवटालाई मात्र गोलमा परिणत गर्न सक्यो। फ्रेङकलिन कुवेते टाल्ला, दयानन्द सिंह, शिव गुरुङ र रूपेश केसीले गोल गर्नमा कुनै गल्ती गरेनन्। मनाङका बलिया खेलाडीका रूपमा लिइएका ओलावाले अफिजले प्रहार गरेको गोल भने एपीएफका किपर जापानी खेलाडी युमा कुरियामा ब्लक गर्न सफल भए।

खेलको पहिलो हाफमा भने सुरुवाती अग्रता पनि एपीएफले नै लिएको थियो। त्यसका लागि खेलको २० औँ मिनेटमा युवराज खड्काले गोल गर्न सफल भए।

त्यसपछिका बाँकी तीन गोल भने खेलको दोस्रो हाफमा भएका थिए। दोस्रो हाफमा खेलको ६७ औँ मिनेटमा मनाङका दयानन्द सिंहले जवाफी गोल गरेपछि दुवै खेल बराबरीमा खेलेका थिए।

त्यसपछिको तेस्रो गोल पनि मनाङका लागि फ्रेङकलिन कुवेते टल्लाले ८४ औँ मिनेटमा गोल गर्दै खेलको अन्तिम समयमा मनाङलाई अग्रता दिलाएका थिए तर त्यो खुसीलाई एपीएफले धेरै बेर टिक्न दिएन।

उसका लागि खेलको ९१ औँ मिनेटमा रवि थिङले गोल गर्दै खेललाई पुनः बराबरीमा फर्काएका थिए।

सेमिफाइनलको पहिलो खेलमा एपीएफले लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई र मनाङ–मर्स्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए।

गोल्डकपको विजेता बनेसँगै एपीएफले नगद १० लाख एक हजार रुपैयाँ सहित ट्रफी हात पारेको छ भने उपविजेताले मनाङ– मर्स्याङ्दी क्लबले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहित विधागत रूपमा पनि पाँचजना उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ।

गोल्डकपको विजेता सहित विधागत रूपमा उत्कृष्ट बनेका खेलाडीहरूलाई गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङले पुरस्कार प्रदान गर्दै हौसला प्रदान गरेका थिए।

२० औँ संस्करणको खेलमा सर्वाधिक गोलकर्ता एपीएफकै रवि थिङ बनेका छन्। उनले अमेरिकाको बिवाइएससीका विरुद्धमा दुई गोल र शनिवारको फाइनलमा मनाङका विरुद्ध एक गरी कुल तीन गोल प्रहार गरेका थिए।

यस्तै म्यान अफ दि सिरिज बन्दै एपीएफका राजन गुरुङले अप्रिला स्कुटर हात पारेका छन्।

आयोजक सहारा क्लबले राखेको प्रिम्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले यस पटकको उपाधि एपीएफले नै जित्ने दाबी गरेका थिए।

मनाङको खेल राम्रो भएका कारण उपाधि रक्षाका लागि एपीएफले पनि सोहीअनुसारको सुधार खेलमा ल्याएको र सोहीअनुसारको रणनीति अनुसार नै १४ वर्षपछि फाइनल यात्रामा फर्किएको उनको भनाइ थियो।

मनाङका प्रशिक्षक फुजा तोपेले समेत विगतका संस्करणको तुलनामा एपीएफले यस संस्करणमा खेलमा निकै सुधार गरेका कारण आफूहरूले पनि सोही अनुसारको तयारी गरेको बताएका थिए।

मनाङसँग भिड्नु एपीएफका लागि त्यति सजिलो पनि थिए किनकि एपीएफका चारजना खेलाडीहरू अदमा डोम्बिया, सविन थापा, प्रदीप लामा र आभाष लामिछानेले यसअघिका खेलहरूमा दुईपटकसम्म येलो कार्ड पाएपछि शनिबारको खेल गुमाएका थिए।

प्रतियोगितामा साविक विजेता सङ्कटा क्लबसहित नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपीएफ, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी, सहारा क्लब र बिवाइएसी मिनेसोटा यूएसए गरी दश टोलीले प्रतिस्पर्धा गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.