'गठबन्धनको म्याण्डेट तीन तहको चुनाव हो, एमसिसी होइन'

|

काठमाडौं : स्थानीय चुनाव र अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर सत्ता गठबन्धनभित्र खटपट देखिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनमा सहमति नभए पनि एमसिसी संसदमा टेबल गर्ने पक्षमा देखिएपछि गठबन्धनको जग हल्लिएको टिप्पणी हुन थालेको छ। 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसिसी यथास्थितिमा अघि नबढाउन दबाब दिइरहेका छन्। गठबन्धन कायम नरहने अवस्थामा उनीहरु तत्काल स्थानीय निर्वाचन पनि चाहिरहेका छैनन्।

यद्यपी प्रधानमन्त्री देउवा भने निर्वाचन आयोगको प्रस्तावअनुसार आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेमा प्रतिवद्ध देखिएका छन्। यस्तो अवस्थामा सत्तारुढ गठबन्धन अब निरन्तर रहने कि नरहने भन्ने निर्णायक मोडमा पुगेजस्तो देखिन्छ। प्रस्तुत छ, यिनै समसामयिक राजनीतिक विषयमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग गरेकाे कुराकानीको सम्पादित अंश।

एमसिसी पास गर्न गठबन्धन बनेको होइन

अहिलेको सत्ता गठबन्धनले पाएको म्यान्डेट आगामी चुनावका लागि हो। त्यसकारण शीर्ष नेताहरूले छुट्टै बाटो लिनेछन् भन्ने लाग्दैन। अब आउने तीन वटा निर्वाचन सम्पन्न गराउनु नै यो सत्ता गठबन्धनको जिम्मेवारी हो। एमसिसी पास-फेल गराउने होइन।

चुनावी गठबन्धन गर्ने नगर्ने भन्ने कुरा त्यो रणनीतिक कुरा हो। राष्ट्रिय राजनीतिको मुल कुरा भनेको तीन तहको निर्वाचन सफलताका साथ गराउनुपर्ने गठबन्धनको जिम्मेवारी हो। दायाँबायाँ लागे भने यो गठबन्धन भत्किन्छ। नेपालको संविधान पनि ट्रयापमा पर्छ।

नेपालको राजनीतिले पनि अस्थिरताको लामो श्रृखंला भोग्नुपर्ने खतरा आउन सक्छ। एमसीसी पास गर्ने कुरामा प्रधानमन्त्रीलाई दबाब होला। यो दबाब हिजो केपी ओलीलाई पनि थियो। तर, यो समय एमसिसी पास गरेर गठबन्धन भत्काउने समय भने होइन। 

माओवादी कसको पार्टी हो भन्ने नै स्पष्ट हुन छोड्यो

अहिले गतिविधि हेर्दाखेरि दुर्घटना तिर जान पनि सक्छ भन्ने लाग्छ। तर, सत्ताबाट बाहिर निस्किने आँट र क्षमता प्रचण्ड र माधव नेपालजीको छ जस्तो लाग्दैन। सत्ता गठबन्धन त्यति धेरै सैद्धान्तिक आडमा बसेको छैन। अहिले एमसिसी पास गर्ने सन्दर्भमा किचलो आयो। यस्ता कयौं कुरा छन्।

यो गठबन्धन उत्तर र दक्षिणको गठबन्धन जस्तो छ। उनीहरू वैचारिक, दार्शनिक रुपमा आफ्नो मुल्य पद्धतिमा फरक छन्। यहाँ कुन पार्टीको व्यवहार कस्तो छ भन्ने कुरा नेपाली समाजमा खासै महत्व देखिँदैन। माओवादी किन कांग्रेससँग मिल्यो भन्ने कुराको चासो यहाँ देखिदैन। तर, अन्तराष्ट्रिय स्तरमा हेर्नुहुन्छ भने यसको चासो हुन्छ। 

यो कुरालाई लिएर प्रचण्डजी दक्षिणपन्थी होइन भनेर अरु अन्तराष्ट्रिय समुदायलाई आफ्नो पहिचान छुट्टै देखाउनुपर्नेछ।  यो गठबन्धनले मुलुकको समृद्धिको यात्रा तय गर्न सक्दैन। यसले एमसिसी मात्र होइन यी भन्दा साना साना निर्णय गर्न पनि सक्दैन।

शिक्षामा सुधार गर्न सक्दैन। स्वास्थ्यमा सुधार गर्न सक्दैन। कृषिमा सुधार गर्न सक्दैन्। महँगी सुधार गर्न सक्दैन। किनभने उनीहरूको राजनितिक विश्वविद्यालय यति फरक छ कि यहाँ कहीँ न कहीँ द्वन्द्व र टकरावहरू आइहाल्छन्।

अहिले त एमसिसीको विषय मात्र आएको न हो।  यसबाट प्रचण्ड र माधव जी जोगिन चाहनुहुन्छ। उहाँहरू कम्युनिष्ट हो। नेपालमा उहाँहरू कम्युनिष्ट जीवन बाँचिरहनुभएको छैन। तर, अन्तर्राष्ट्रिय समुदायले भने उहाँहरूलाई कम्युनिष्ट भनेर चिन्छ। त्यस कारणले अमेरिकाले भारतको सहमतिमा लिड गरेको एमसिसी पास गर्न धेरै किसिमले गाह्रो छ। त्यहि कारणले सत्ता गठबन्धन अहिले ट्रयापमा परेको छ। 

अर्को कुरा के छ भने यी दुवै पार्टी काठमाडौं बेस पार्टी जस्ता भइसके। प्रचण्ड जीले आफूले जनयुद्ध गरेको थिएँ भन्ने सम्झन चाहनुहुन्न। उहाँले अहिले बालुवाटार र आफ्नो निवासमा सबैभन्दा बढी समय व्यतित गर्नुभएको छ।

प्रधानमन्त्री हुँदा या नहुँदा सबैभन्दा बढी बालुवाटार पुग्ने उहाँ नै हुनुहुन्छ। उहाँको संगठन केही पनि देखिँदैन। माओवादी यति चाँडै काठमाडौंकरण भएको छ कि अब सिंगो माओवादी पार्टी दु:ख गर्न तयार छैन। उनीहरुले जहाँबाट जनयुद्ध सुरु गरे। त्यहाँ जाँदा गाउँलेले लखेट्छन् भन्ने मनोविज्ञान देखिन थालेको छ। उहाँहरूको पार्टी उच्च घरानामा देखिन्छ। 

उहाँको पार्टीलाई सम्झिँदा के भनेर सम्झिने? प्रचण्डजी सधैँ अर्काको बुई चढेर कहिले एमालेले गठबन्धन गर्ला,कहिले कांग्रेसले गर्ला, कहिले राजाले गर्ला भन्ने सोच छ। उहाँ सधै सहारा खोज्ने मान्छे हुनुभयो।

जनयुद्ध हुँदा पनि दरबारसँग एक किसिमको एसोसिएट भएर अगाडि बढ्नुभएको हामीले प्रष्ट देख्यौँ। पछि कांग्रेससँग सरकारमा र चुनावी तालमेल चाहिँ एमालेसँग  गर्नुभयो। राष्ट्रिय पार्टीबाट उहाँले बार्गेनिङ गर्ने पार्टीका रुपमा झारिसक्नुभएको छ। 

माधवजी चाहिँ अनुभवी राजनीतिज्ञ हो। उहाँले थुप्रै राजनितिक परिवर्तनमा योगदान गर्नुभएको छ। उहाँले चाहिँ कुन दर्शनमा पार्टी अगाडि चलाउनुहुन्छ र देशलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने चाहिँ आधार के हो? ओलीजीसँगको असहमति हो कि, नयाँ कुनै राजमार्ग कोर्नुभएको छ भन्ने केहि पनि देखिँदैन। 

प्रचण्ड र माधवजीले एमसिसी पास नगर्ने, चुनाव सार्ने कुरा अन्यौलता र अराजकताको स्थिति हो। उहाँले यो कुरमा आफूहरूलाई भने न्याय गर्दै हुनुहुन्छ। संगठन छैन। एमसिसी पास गर्दै वैचारिक विचलन पनि देखिने भएको छ। माओवादी कुन समुदायको हो?

अहिलेको गठबन्धन अस्वभाविक हो। शेरबहादुरजी कांग्रेसमा भएकामध्ये दक्षिणपन्थी हो। उहाँको अमेरिकाप्रतिको सोचाई सधैँ अगाडि आउँछ। उहाँ प्रभावित पनि हुनुहुन्छ। अर्कोतिर प्रचण्ड माधव हिजोका दिनमा एक्स्ट्रिम लेफ्ट हो। अहिले दक्षिणपन्थमा जाने कुरा उहाँहरू तयार हुनुहुन्छ कि नाइँ? त्यसकारणले गठबन्धनले एमसिसीमा हात हाल्यो भने खास उपलब्धि छैन। 

अहिले गठबन्धनले एमसिसी टेबल गर्छ भन्ने लाग्दैन

शेरबहादुर वा कांग्रेस पार्टीको सक्षमताले मात्र यो टेबल हुन सक्दैन। चुनाव मुखमा छ। कांग्रेस यो डिजास्टरलाई सम्हाल्न पनि सक्दैन। एमसिसीमा के के छ मैले पनि पढेको छु। यो विषयमा भिन्दै छलफल होला। तर, एमसिसी अहिले नेपालमा यस्तो भय र त्रास भएर फैलिएको छ। यो पास भयो भने पोलिटिकल न्यारेटिभ बन्न सक्छ। कांग्रेस ७४ को चुनाव जस्तै साइजमा आउँछ। 

चुनावमा कति बाटो बन्यो, कति खोप ल्यायो भन्ने कुराहरू चुनावी नारा बन्न सक्दैन। यो संसारमा कहीँ पनि बन्न सक्दैन। चुनावमा नेशनल न्यारेटिभ चाहिन्छ। विधान सभाको चुनावमा विकासको नाममा चुनावी खेती गर्न सकिन्छ। तर, राष्ट्रिय चुनावमा राष्ट्रिय न्यारेटिभहरु चाहिन्छ।

कसले राष्ट्रियताको बारेमा सही गर्‍यो? कसले बेरोजगार दर घटायो? कसले महँगी नियन्त्रण गर्‍यो? यस्ता कुरा हो। हाम्रो जस्तो देशमा भावना बिक्छ।  त्यसैले एमसिसीसँगै जोडिएको राष्ट्रियता, सार्वभौमसत्ता, यसको अखण्डता खुम्चिन्छ भन्ने नेपालीलाई त्रास छ। एमसिसी पास भयो भने अमेरिकी सेना हाम्रै घरमा आइपुग्छ भन्ने डर देखिएको छ। यो भयलाई अर्को कुनै पार्टीका लागि लाभ लिने विषय हो।

प्रत्युत्पादक हुने जान्दा जान्दै प्रधानमन्त्रीको जोड किन ?

यो शेरबहादुर देउवाको 'प्रस्पेक्सन' हो। एमसिसी पास गरेपछि पश्चिमा र भारत खुशी हुन्छन् भन्ने उहाँलाई छ। उहाँलाई के भ्रम छ भने आफूलाई सत्तामा पुर्‍याएको पनि सुपर पावरले हो। देश जोगाउनेदेखि सबै काममा सुपर पावरलाई खुसी बनाउनुपर्छ भन्ने छ। त्यसैले भारत अमेरिका सुपर पावर हुन् र यिनीहरूलाई खुसी बनाएर राजनितिक बर्चस्व बचाउँछु भन्ने उहाँलाई लागेको छ। 

एमसिसी पास भए कांग्रेस 'लुजर' पार्टी बन्छ

केपी ओलीजी शेरबहादुर भन्दा पृथक हुनुहुन्न। तर, चुनावको मुखमा ओलीजीले पनि एमसिसी पास गर्न सघाउनु हुन्छ भन्ने मलाई लाग्दैन। ओलीको चाहना गठबन्धन फुटाउने मात्र हो। अहिले ओलीजीले एमसिसी पास गर्छु भनेपनि पछि सहयोग नगर्न सक्नुहुन्छ।

एमसिसी पास गर्ने सन्दर्भ अगाडि बढ्यो भने एमाले फेरि पनि फुट्छ। मैले बुझेको राजनीति के हो भने चुनावअघि एमसिसी पास गर्नुपर्ने कुनै आधार देख्दिनँ। सबै राजनीतिक दलका लागि यो 'लुजर' एजेण्डा हो। अहिले कांग्रेसले यसलाई छुनु हुँदैन भन्ने कुरा किन पनि हो भने अहिले तीन वटा कम्युनिष्ट ब्लक छ।

जसलाई शीर्ष नेताले चलाइरहेका छन्। अन्य पनि कम्युनिष्ट दल छन्। कांग्रेसको अहिलेको भोट बैंक ३० देखि ३२ प्रतिशतभन्दा बढि छैन। तर, यो नेपालको पहिलो दल बन्न पुग्ने भोट बैंक हो। यदि एमसिसी पास गर्न देउवाजी आउनुभयो भने कांग्रेस 'लुजर' पार्टी बन्छ। प्रक्षेपणमा ५-६ प्रतिशतसम्म भोट घट्छ। त्यसैले अमेरिकाले आफ्नो मित्रलाई एमसिसी पास गर्न दबाब दिएर अपरिपक्वता देखाउँछन् भन्ने लाग्दैन। 

गठबन्धन फुटाएर चुनावमा गए फेरि ओली सरकारमा

गठबन्धन फुटाएर चुनावमा जाँदा ओलीले सहयोग गर्ने देखिन्छ। एमसिसी पास नहुने, गठबन्धन भत्किने र ओलीले देउवालाई समर्थन गर्ने हो भने भावी सरकार ओलीको हो। अहिले तरबारको धारमा देउवा हुनुहुन्छ। पार्टीभित्र पनि सत्ता गठबन्धन  चुनावी गठबन्धन गर्ने कि नाई भन्ने विभाजन छ।

त्यसैले एमसिसी पास गरेर देउवाले आफूलाई जस्टिफाइ गर्न सक्नुहुन्न। पार्टी सभापति र प्रधानमन्त्रीले केहिपनि कम्युनिकेट गर्न नसक्ने भएपछि एमसिसी पास हुँदैन। 

समग्रमा भन्दा अहिले चुनाव अगाडि एमसिसी पास हुँदैन। प्रचण्ड र माधव जीले चुनाव नचाहे पनि लत्रिएर चुनावमा जाने देखिन्छ। त्यसैले पार्टीले चाहेर प्रधानमन्त्री फेरिन सक्छ तर, नेपालको राजनिति त्यहि दिशामा जान्छ भन्ने दिन गए। यहाँ जनताको, मिडियाको, सिभिल सोसाइटीको प्रेसर छ। त्यसैले अहिले देउवा जी संविधानले जे जे भनेको छ त्यहि अनुसार चल्नु नै मनासिव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.