|

म्याग्दी : म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरु नहुँदा त्यस क्षेत्रका स्थानीय वासिन्दाहरु चिन्तित भएका छन्।

म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै सुरु नहुँदा स्थानीय चिन्तित भएका हुन्।

कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरु भएको छ। तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरुको संरक्षणमा कुनै चासो नदेखाइएको स्थानीयको गुनासो छ।

गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम सुरु भएको छैन। कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ।

बजेट विनियोजन भएको केही पनि नदी नियन्त्रण योजनाको काम सुरु नभएको हो। रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने सुरु गरिएको छ।

‘मध्य हिउँद वितिसक्यो,अझै काम सुरु भएको छैन, हिउँदमा नदीको सतह घटेको समयमा काम हुँदैन, बर्खा लागेपछि काम सुरु हुन्छ’, बगरफाँटका जीतबहादुर कार्कीले भने। त्यसैगरी प्राकृतिक उपचारस्थलका रुपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि अहिलेसम्म काम सुरु नभएकोले स्थानीयवासीहरू चिन्तित बनेका स्थानीय कुमार केसीले जानकारी दिए।

‘हिउँद वित्नै लाग्यो, अहिलेसम्म बजेटको समेत व्यवस्थापन हुन सकेको छैन’ केसीले भने। मसारमा नदी कटानबाट दुई वटा घर भत्किएका र १५ परिवार विस्थापित भएका छन्। दुई सय घर कटानको उच्च जोखिममा रहेका उनले जानकारी दिए।

यसैगरी बेनी नगरपालिका–२ बगरफाँटमा पनि नदी कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन नहुँदा जोखिमको चिन्ता बढेको छ। शिरानमा विशाल भीरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ।

२०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका दुई सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिंदै बग्ने म्याग्दी नदीको कटानबाट वर्षेनि त्रसित हुने गरेका छन्। म्याग्दी नदीको कटान नियन्त्रणका लागि वर्षेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने म्याग्दी नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन्।

‘गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैँभर रहिरहन्छ’ स्थानीय बुद्धिजीवि तथा नदी नियन्त्रणका लागि वर्षाैदेखि लागिपर्नु भएका म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको छ। अध्यक्ष कार्कीका अनुसार बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हन्छ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट वर्षेनि साँघुरिँदै जान थालेको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको शिरानमा रहेको जंगल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ।

पहिरोले गाउँ कुरूप बन्दै जान थालेको र शिरानका पाँच घर परिवारले आफ्नो घर नै छोडेर बसाइँ सरिसकेका स्थानीय कृष्ण रिजालले बताए। सिंगा तातोपानीको सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानको जोखिममा छ।

तत्कालै नियन्त्रणको काम सुरु नगरे आउने बर्खामा म्याग्दी नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको सरस्वती मावि सिंगा तातोपानीका प्रधानाध्यापक सुरत बानियाँले बताए।

बेनी नगरपालिकाको सहयोगमा नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापनको पहल गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी गरेको उनले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.