|

हेटौंडा : करिब एक साताअघि हेटौंडा–२ की रञ्जुलाई एक्कासी आफ्नो गर्भमा रहेको शिशु नचलेको महशुस भयो।

८ महिनादेखि आफ्नो गर्भमा रहेको बच्चा चल्न छाडेको थाहा पाउनासाथ उनी आत्तिँदै हेटौंडा अस्पताल पुगिन्। 

अस्पताल पुगेर भिडियो एक्स–रे गरेपछि उनको बच्चा पेटमै मरिसकेको उनले थाहा पाइन्।

८ महिनासम्म आफ्ना सबै दुःखकष्ट भुलेर गर्भमा हुर्काइरहेको शिशु जन्मने वेलामा पेटमै मर्‍यो भन्ने सुन्दा उनलाई कति पीडा भयो होला? एउटी आमाको यो पीडा सबैले अनुभूत गर्न सक्दैनन्।

उनलाई कतै घोचेको, पोलेको वा दुखेको केही थिएन। अरु दिनको जसरी पेटमा बच्चा नचलेकाले मात्र रञ्जु अस्पताल पुगेकी थिइन्।

अस्पताल पुगेपछि उनले बच्चा पेटमै मरिसकेको त थाहा पाइन् तर, के कारणले मर्‍यो भन्ने अझै थाहा पाएकी छैनन्।

बच्चा गुमाउनुको पीडामाथि उनको अर्को पीडा त बाँकी नै थियो- कोखमा मरेको बच्चा जन्माउनु।

पेटमा मृत्यु भइसकेको बच्चा निकाल्न अप्रेसन गर्दा आमाको ज्यानको जोखिम हुने भन्दै चिकित्सकहरू अप्रेसन गर्नबाट पन्छिए।

अब उनले जिउँदो बच्चालाई जस्तै गरि मृत सन्तान जन्माउनुपर्ने अवस्था आयो। त्यसका लागि उनले २ दिन हेटौंडा अस्पतालमा अनेक औषधि खाएर बस्नुपर्‍यो।

तर, बच्चा जन्मने सुरसार नभएपछि उनलाई रिफर गरेर चितवन पठाइयो। चितवनको पुरानो मेडिकल कलेज पुगेको भोलिपल्ट उनले मृत छोरालाई जन्म दिइन्।

मृत सन्तान जन्माउन उनी पनि मृत्युकै मुखमा पुग्नुपर्‍यो। उनको बच्चा ८ महिनापछि कोखमै कसरी मर्‍यो? यसको जवाफ न त उनीसँग छ न त चिकित्सकले नै दिए।

रञ्जु एक उदाहरण मात्र हुन्। यसैगरि मकवानपुरका कैयौं आमाका कोखमै बच्चा मर्छन्। तीमध्ये केहीले मात्र बच्चा गर्भमै मृत हुनुको कारण थाहा पाउँछन्।

गर्भवती आमा र बच्चाको मृत्युदर घटाउन सरकारले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरे पनि मृत्युदर घटेको छैन।

गर्भवती तथा सुत्केरी आमा र शिशुको मृत्यु शून्यमा झार्न सरकारले प्रभावकारी काम गर्न नसक्दा मृत्युदरमा कमी आउन सकेको छैन।

त्यसैगरि गर्भवतीहरू स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले सुत्केरी नहुनु, नियमित गर्भ परीक्षण नगराउनु, खानपानमा ध्यान नदिनु, कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माउनुजस्ता कारणले पनि मृत्युदर घट्न नसकेको हो।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा गएका ४ आवमा १ सय २७ शिशुले गर्भमै ज्यान गुमाएका छन्।

यसैगरि जन्मिएको २८ दिनभित्र ८२ शिशुको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु घरमै भएको कार्यालयले जनाएको छ। 

४ वर्षमा मकवानपुरका ७ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्।

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले दिएको जानकारीअनुसार आव ०७५/७६ मा ३ जना शिशुले स्वास्थ्य संस्थामा ज्यान गुमाउँदा १९ शिशुको मृत्यु समुदायमा नै भएको छ।

यसैगरि २३ जना शिशुको जन्मनुअघि गर्भमै र प्रसूतिका क्रममा मृत्यु भएको छ भने २ जना गर्भवतीको समुदाय र स्वास्थ्य संस्थामा ज्यान गएको छ।

आव ०७६/७७ मा २१ नवजात शिशुले समुदायमा नै ज्यान गुमाएका छन् भने ४३ जनाको गर्भमा नै मृत्यु भएको छ।

त्यसैगरि चालू आवमा ४ जना महिलाको गर्भावस्थामा मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

आव ०७७/७८ मा ३५ शिशुको गर्भमा नै मृत्यु भएको, २ नवजात शिशुको स्वास्थ्य संस्थामा र २२ जनाको समुदायमा नै मृत्यु भएको घिमिरेले जानकारी दिए।

उनले चालू आवमा एक गर्भवतीले समुदायमा नै ज्यान गुमाएको जानकारी दिए।

घिमिरेका अनुसार चालू आव ०७८/७९ को हालसम्म पनि २६ शिशुको गर्भमै, २ जनाको स्वास्थ्य संस्थामा र १३ जना शिशुको समुदायमा नै मृत्यु भएको छ भने मातृ मृत्युदर शून्य छ।

४ वर्षको तथ्यांक हेर्दा मकवानपुरमा मातृ मृत्युदर घटेको देखिए पनि नवजात शिशुको र गर्भमै मृत्यु हुने शिशुको संख्यामा कमी भएको छैन।

सरकारले मातृ-शिशु मृत्युदर शून्यमा झार्ने भन्दै बर्सेनि लाखौं रूपैयाँ खर्चिँदै आएको छ।

तर, अझै पनि जनचेतना र स्वास्थ्य उपचारको अभावमा गर्भवती, सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन्।

देश संघीयतामा गएपछि आएका स्थानीय तहले प्रत्येक वडामा स्वास्थ्य चौकी खोलेका छन्, बर्थिङ सेन्टर सञ्चालन गरेका छन्। तर, त्यसको प्रभावकारिता भने खासै देखिएको छैन।

बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा देखिएको शिशु मृत्युदरको तथ्यांकले प्रदेशका अन्य विकट जिल्लाको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ। 

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेका अनुसार मकवानपुरमा उपचार र हेरचाह अभावमा आमा र शिशुको मृत्यु भइरहेको छ।

‘मकवानपुरको हेटौंडालाई हेरेर हुँदैन। विकट गाउँपालिकाको कुनातिर हेर्ने हो भने जनचेतनाको कमी छ। अझै महिलाहरू घरमा नै सुत्केरी भइरहेका छन्’, उनले भने, ‘नियमित परीक्षण, पोषणयुक्त खाना, हेरचाह र उपचार नहुँदा मृत्युदर घट्न सकेको छैन।’

उनले जन्मिएको ४२ दिनसम्म सुत्केरी र बच्चाका लागि जोखिमपूर्ण हुने भएपनि आवश्यक हेरचाह नपुग्दा जन्मिएपछि ज्यान गुमाउने नवजात शिशुको संख्या नघटेको बताए।

‘सानै उमेरमा विवाह गर्दा र नियमित परीक्षण नगराउँदा पेटमै मृत्यु हुने शिशुको संख्यामा पनि अत्यधिक छ। यसलाई न्यूनीकरण गर्न हामीले जति प्रयास गरे पनि सकिरहेका छैनौँ’, उनले भने।

घिमिरेका अनुसार सरकारले मातृ-शिशु मृत्युदर शून्यमा झार्ने भने पनि त्यसअनुरुप जनचेतनामूलक कार्यक्रम हुन सकेका छैनन्।

स्थानीय तहले गरिरहेको काम पनि प्रभावकारी हुन नसकिरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.